Logo

सिडेनको सदस्यमा चेतनाथ पाण्डे समूहबाट ईं अनिल धमलाको उम्मेद्वारी घोषणा



काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसनिकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को यही जेठ १३ गते हुने ७औं कार्यकारिणी तथा दोस्रो प्रादेशिक समितिको निर्वाचनमा ई. अनिल धमलाले ईन्जिनियर चेतनाथ पाण्डेले नेतृत्वको समूहबाट सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

धमलाले आज (सोमबार) सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । सिडेनको नेतृत्वको लागि चेतनाथ पाण्डे, लक्ष्मण केसी र प्रमोद दवाडीले उम्मेद्वारी घोषणा गरेका छन् । सदस्यमा उम्मेदवारी दिएका धमला एक्सपर्ट इन्जिनियरिङ सोलुसन प्रा.ली.मा आवद्ध छन् । धमलाले भारतको प्रसिद्ध विश्वविद्यालय जेएन.टि.यु. (काकिनडा) बाट स्नातक गरेका हुन् ।

अध्यक्षका प्रत्यासी पाण्डे समूहले भने ‘पेशागत इन्जिनियरिङ एकता : हाम्रो प्रतिबद्धता’ शीर्षकमा घोषणापत्र पनि सार्वजनिक गरिसकेको छ । पाण्डेले विगत लामो समयदेखि इन्जिनियरहरु र एनईएको सपनाको रुपमा रहेको इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको लागि सरकारलगायत सरोकारवाला सबै पक्षसँग आवश्यक र परीणाममुखी पहल कदमी लिने प्रतिबद्धता जनाएका छन् ।

यस्तै, नेपाल सरकार, स्थानीय तह तथा नेपाल सरकारको स्वामित्वमा रहेका संघ/संस्थाहरुले इन्जिनियरहरुको दरबन्दी छैटौं तहमा माग गरिरहेको सम्बन्धमा सबै सरोकारवाला पक्षसँग समन्वय गर्दै उक्त दरबन्दी सातौं तहमा कायम गर्नेगरि अधिकतम पहल गरिने पनि प्रतिबद्धता जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्