Logo

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानको ‘च्याप्टर क्लोज’ भएको छैन : एसपी रिजाल



काठमाडौं, ९ जेठ । काठमाडौं प्रहरीका प्रवक्ता एसपी सीताराम रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निरन्तर रहने बताएका छन् ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा ५७-५८ दिनको अनुसन्धानका क्रममा हामीले के के देख्यौं, सम्बन्धित व्यक्तिहरुलाई कुन कुन कानुन आकर्षित हुन्छ भनेर रायसहितको प्रतिवेदन सरकारी वकिललाई दिएका छौं । तर ठगी तथा संगठित अपराधमा अझै पनि जाहेरी प्राप्त हुने र नयाँ कुरा थाहा हुने अवस्था छ । यसलाई कानुनले नै खुला गरेको छ । समग्रमा अनुसन्धान अझै सकिएको छैन, अनुसन्धानको च्याप्टर क्लोज भएको छैन भनेर बुझ्दा हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
नक्कली भुटानी शरणार्थी प्रकरणको मुख्य नाइके को हो भन्ने प्रश्नमा एसपी रिजालले भने, ‘मुख्य नाइकेभन्दा पनि अनुसन्धानका क्रममा १६ जना पक्राउ परेका छन्, १७ जना फरार छन् । उनीहरुको कुनै न कुनै रुपमा संलग्नता देखिएको छ । फरार व्यक्तिहरु उच्च निगरानीमा छन् । हामी तिनलाई पनि गिरफ्तार गरेर अदालतमा बुझाउँछौं । अझै पनि कोही पीडित छन् भने तिनको जाहेरी लिएर अनुसन्धान गर्छौं ।’
प्रहरीको अनुसन्धानमा ठूला वा सानो व्यक्ति भनेर नहेरिएको पनि उनले प्रस्ट पारे । उनले भने, ‘प्रहरीले प्रमाणमुखी अनुसन्धान गर्छ । प्राप्त सूचनाको भेरिफाई गर्छौं र स्वतन्त्र प्रमाण फेला परे अनुसन्धानमा तान्छौं । तथ्य र प्रमाणले जता डोर् याउँछ, हामी त्यतै जाने हो । त्यसमा ठूलो वा सानो व्यक्ति हेर्दैनौं ।’
कतिपय अभियुक्तले स्वीकारोक्तिसहितको बयान नदिए पनि अनुसन्धानमा त्यसले फरक नपार्ने पनि एसपी रिजालको कथन छ । उनले भने, ‘बयान पनि अनुसन्धानको एउटा माध्यम हो । तर कुनै प्रतिवादीले आफ्नो बचाउ गर्नु अस्वाभाविक होइन । म मेराविरुद्ध बोल्दिन भन्न पाइन्छ । हामीले मनी ट्रान्जेक्सन, टेलिफोन, मोबाइल आदि प्राविधिक पाटाको पनि अनुसन्धान गरेका छौं ।’
प्रतिवेदनमा समेटिएका व्यक्तिविरुद्ध ठगी, संगठित अपराध, राष्ट्रिय हितप्रतिकूलको अपराध, अख्तियार दुरुपयोग र सम्पत्ति शुद्धीकरण आदि मुद्दा लाग्न सक्ने रिजालले औंल्याए । उनले भने, ‘तर मुद्दा हामीले लगाउने होइन, सरकारी वकिलको कार्यालयले लगाउने हो ।’ अनुसन्धानका क्रममा आफूलाई कुनै दबाब नआएको पनि उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्