काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिएका छन् । जसपाबाट एक मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गरेसँगै प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले पूर्णता पाएको हो ।
प्रधानमन्त्री दाहालले जसपाबाट डा. वीरेन्द्र प्रसाद महतोलाई वन तथा वातावरण र प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त वनमन्त्री डा.महतोले भने आफ्नो वैवाहिक वर्षगाँठकै दिन मन्त्रीमा नियुक्त हुने अवसर प्राप्त गरेका छन् । सिरहा–४ बाट निर्वाचित डा. महतोले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
उनी यसअघि बैंकका अध्यक्षको जिम्मेवारीमा थिए । तर, प्रतिनिधिसभामा निर्वाचित भएपछि उनले सो पदबाट राजीनामा दिएका हुन् । उनी प्रतिष्ठित उद्योगपति डा. उपेन्द्र महतोका भाइ हुन् ।