Logo

सुझाव सङ्कलन गर्दै स्थानीय तह



त्रिवेणी, ९ जेठ । नवलपरासी पूर्व नवलपुरका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेटका लागि सुझाव सङ्कलन थालेका छन् । स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र नगर तथा गाउँसभामा पेस गरिसक्नुपर्ने छ ।

यसैका लागि बजेट निर्माण अघि रायसुझाव सङ्कलन थालिएको कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताए । बजेटलाई स्थानीय आवश्यकता र माग अनुसार प्रभावकारी बनाउन सुझाव माग गरिएको उनको भनाइ छ । यही जेठ २० गतेभित्र नगरपालिकामा रायसुझाव पेस गर्न पालिकाले सार्वजनिक सूचना जारी गरेको छ ।

जिल्लाका आठवटै पालिका यतिबेला नीति, कार्यक्रम र बजेटको पूर्व तयारीमा जुटेका छन् । उनीहरुले स्थानीयसित रायसुझाव माग गरेका छन् । पालिकाको प्राथमिकताका विषय पहिचानमा सहजता, जनताको चाहना र भावना बुझ्दै बजेटलाई यथार्थ फरक बनाउन रायसुझाव माग गरिएको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले बताए ।

बौदिकाली गाउँपालिकाले प्राथमिकताका आधार तोकेर सम्बन्धित विषयमा रायसुझाव माग गरेको छ । कृषि उत्पादन वृद्धि गरी स्वरोजगार सिर्जना गर्ने, गुणस्तरीय शिक्षा कायम गर्ने, भौतिक पूर्वाधारलाई पहुँच र गुणस्तर कायम गर्ने गरी पालिको रायसुझाव माग गरेको ति तथा कार्यक्रम आवश्यकपर्ने हो सोही अनुसार सुझाव माग गरिएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताए ।

“पालिकाले मुख्यगरी आर्थिक क्रियाकलापमा जनतालाई जोड्ने, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने जस्ता विषयलाई प्राथमिकता दिने लक्ष्य छ”, उनले भने, “यसैलाई आधार मानी आगामी आर्थिक वर्षको नीति ,कार्यक्रम र बजेटमा राय सुझाव माग गरेका छैँ ।”

आगामी आर्थिक वर्षको नीति ,कार्यक्रम र बजेटमा मुख्य गरि रोजगार सृजन गर्ने खालका विषयलाई यहाँका पालिकाले प्राथमिकता दिन लागिएको छ । आर्थिक क्रियाकलापमा नागरिकलाई जोड्दै विकास निर्माणका कामलाईसमेत अघि बढाउने विषय प्राथमिकतामा पर्ने विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए । कृषि, पर्यटन, लघु उद्यमको माध्यमबाट आर्थिक क्रियाकलाप वृद्धि गर्ने, पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने खालका विषय प्राथमिकताका रुपमा रहेन अध्यक्ष गिरीले बताए । रासस



प्रतिक्रिया दिनुहोस्