Logo

जलन वार्ड चल्ने अत्तोपत्तो छैन



काठमाडौं, जेठ १० । वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड सञ्चालन गर्ने विषयमा वीर अस्पताल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच मत बाझिएको छ ।

वीर अस्पतालले जलन वार्डका लागि केही भौतिक पूर्वाधार तयार पारे पनि सञ्चालनका लागि मन्त्रालयसँग बजेट मागेको तर त्यो नआउँदा सञ्चालन गर्न नसकिएको धारणा प्रस्ट गरेको छ । तर मन्त्रालयले बजेट अभावकै कारण वार्ड सञ्चालन गर्न नसकिने अवस्था नरहेको तर्क गरेको छ । गत फागुन ३ गते राति प्रतिनिधि सभा सदस्य डा। चन्द्र भण्डारी र उहाँकी आमा आगलागीमा परी गम्भीर दुर्घटना हुँदा उपचारमा समस्या परेको थियो । आमा चन्द्रकला भण्डारीको घटनाको भोलिपल्ट निधन भयो भने सांसद भण्डारीको उपचार नेपालमा नहुने भएपछि भोलिपल्टै भारत लगिएको थियो ।

त्यस विषयमा ‘राज्यसँग छैन जलन उपचार अस्पताल’ शीर्षकमा गोरखापत्रले समाचार प्रकाशन गरेपछि फागुन ५ गते वीर अस्पतालमा नियुक्त भएका कार्यकारी निर्देशक डा सन्तोष पौडेलले वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड सञ्चालन गर्ने भनी पहिलो निर्णय नै गरेका थिए ।

निर्णयको तीन महिना बित्दा पनि त्यसबारे वीर अस्पताल प्रशासन र स्वास्थ्य मन्त्रालयबीच समन्वयको अभाव देखिएको छ । काम पनि अगाडि बढेकै छैन । भारतको मुम्बईबाट उपचार गरी फर्किएका सांसद् भण्डारीले सरकारी अस्पतालमा उपचार गराउन पाएका छैनन् । उनी कीर्तिपुर बर्न अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँकै एक निजी अस्पतालमा थप उपचार गराइरहेका छन्।

वीर अस्पतालका कार्यकारी निर्देशक डा पौडेलले स्वास्थ्य मन्त्रालयले आवश्यक बजेट व्यवस्था गर्न नसक्दा वार्ड सञ्चालन गर्न नसकिएको दाबी गरे। उनले जलन वार्ड सञ्चालनका लागि अस्पतालले गर्नुपर्ने सम्पूर्ण कार्य पूरा गरिसकेको जानकारी दिए। उनले जलन वार्डका लागि आवश्यक चिकित्सक, शय्या, सघन उपचार शय्या तथा स्थानको समेत व्यवस्था भइसकेको भए पनि केही उपकरण र नर्सिङ जनशक्ति पूरा नभएको एवं त्यसका लागि बजेट मन्त्रालयले आवश्यक बजेट व्यवस्था गर्न नसकेको आरोप लगाए। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot