काठमाडौं, जेठ १० । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नबीच गृह मन्त्रालयमै लेनदेनको विषयमा विवाद भएको बयान दिएका छन् ।
१६ पुस २०७७ मा काम विशेषले गृह मन्त्रालय गएको बेलामा स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजित राईको कार्यकक्षमा छलफल हुँदा ठूलो स्वरमा आवाज आएको र कार्यकक्षमा छिर्दा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेनसम्बन्धी विवाद भएको सुनेको बयान दिएका छन् ।
कार्यकक्षबाट बाहिर आएपछि सानु भण्डारी र केशवप्रसाद दुलाललाई डुप्लिकेट काम गरेका त छैनौं? भनी सोध्दा निजहरूले हामी पूर्वका मानिस हौं, शरणार्थीका लागि पनि हामीले डुप्लिकेट काम गर्छौं होला भनी प्रतिप्रश्न गरेका बयानमा भनेका छन् ।
त्यस्तै, रायमाझीले भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी र दीर्घकालीन समाधानको उपाय पहिल्याउन बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन भएको जानकार भएको बताएका छन् । त्यस्तै, उनले इन्द्रजित राईलाई चिनाइदिएको भन्ने कुरा सरासर गलत भएको बताएका छन् ।
प्रतिवादी इन्द्रजित राई र प्रतिवादी सानु भण्डारीबीचको लेनदेन विषयमा उनले जान्ने कुरा हो, मलाई जानकारी छैन, निजले मलाई दिएको भनेको रकमबाट मैले कुनै रकम लिएको छैन, रायमाझीले बयानमा भनेका छन् । राजधानी दैनिकबाट