काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले नागरिकता विद्येयक यथाशक्य चाँडो प्रमाणीकरण गर्न माग गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल उक्त विधेयक प्रमाणीकरण गर्नुपर्ने बताएका छन् ।
आज (बुधबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद निधिले यस्तो माग गरेका हुन् । उनले सो विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानूनी रूपमा कुनै पनि बाधा अड्चन नभएको पनि जिकिर गरे । पछिल्लो समय राष्ट्रपति पौडेलले उक्त विद्येयक प्रमाणीकरणको लागि संविधानविद्हरुसँग परामर्श पनि गरेका थिए । यही सन्दर्भमा निधिको यस्तो भनाई आएको हो ।
उनले भने, ‘आजको समाचारहरूमा राष्ट्रपतिजी, प्रधानमन्त्री र मन्त्रीजीहरूको बीचमा नागरिकता विधेयक प्रमाणीकरण गर्ने विषयमा छलफल भएको सुन्यौं । यो नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि कानूनी तथा संवैधानिक आधारहरु खोज्नु भएको छ अरे भनेर सुनेको छु । राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रिपरिषद् नै हुन्छ । संसदबाट दुईदुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनु हुँदैन । र, त्यहीँबाट प्रमाणित नै हुनुपर्दछ । मन्त्रिपरिषदले नै निर्णय गरेर राष्ट्रपतिजीलाई सल्लाह गरेर कुनै बाधा छ भने त्यो पनि फुकाउनु प¥यो । यो संविधानसम्मत कुरा नै हो । त्यसकारण नागरिकता विधेयक तत्काल प्रमाणित गर्न लगाउने कुरामा सरकार चाहीँ सम्पूर्ण रूपमा सक्रिय भइदिनुप¥यो भन्ने कुरा राख्न चाहन्छु ।’