काठमाडौं, १० जेठ । नेकपा (एमाले) का सचिव तथा सांसद रघुवीर महासेठले छिटोभन्दा छिटो जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिन सरकारसमक्ष माग गरेका छन् । आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा महासेठले यस्तो माग गरेका हुन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले पनि संसद्को रोष्ट्रममा उभिएर नागरिकताको समस्या समाधान गर्छु भनेर आश्वासन दिएको स्मरण गराउँदै यथाशक्य अध्यादेश ल्याएर भएपनि जन्मसिद्धका सन्तानलाई नागरिकता दिलाउन माग गरेका हुन् ।
उनले नागरिकता विद्येयकको नाममा जन्मसिद्धका सन्तानलाई नागरिकता लिनबाट बञ्चित नगर्न चेतावनी दिए । उनले एक महिनाभित्र प्रधानमन्त्रीले बोलेका कुरा पूरा गर्न आग्रह गरे । उनले नीति तथा कार्यक्रममा देशमै सबैभन्दा बढि राजश्वमा योगदान पुर्याएको जनकपुर चुरोट कारखानाको कुरा उल्लेख नगरिएकोमा गुनासो पोखे ।