दाङ, १० जेठ । तुलसीपुर उपमहानगरपालिकाले भूमिहिनको जग्गा नाप नक्साङ्कनको कार्य सुरु गरेको छ ।
राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले मङ्गलवारदेखि जग्गा नाप्न सुरु गरेको हो । वडा नं ६ बाट नाप नक्साङ्कन कार्य सुरु गरिएको छ ।
राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मीले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई मध्येनजर गरी जग्गा नापजाँच कार्य अगाडि बढाइएको बताए । निस्सा वितरण भइसकेका र तथ्याङ्क प्रविष्ट गरिसकेका पालिकामा नापजाँचको काम अगाडि बढेको उनले बताए ।
छिटोभन्दा छिटो भूमिहिनको हातमा लालपुर्जा पु¥याउने उद्देश्यले आयोगले काम अगाडि बढाएको भन्दै अध्यक्ष रेग्मीले सबै अधिकार गाउँ कार्यपालिकाको हातमा रहेकाले जग्गाको वर्गीकरणदेखि सार्वजनिक जग्गाको संरक्षणको जिम्मा पनि पालिकाको नै रहेको उल्लेख गरे । पालिकामा लगत प्रविष्टीकरण कार्यमा ढिलाई भएका कारण नापनक्साङ्कनको कार्यमा ढिलाई भएकाले कार्यान्वयनमा केही समस्या भएको उनको भनाइ थियो ।
उपमहानगरपालिका प्रमुख टिकाराम खड्काका अनुसार पालिकाभित्र अहिले २३ हजार तीन सय २६ जनाको तथ्याङ्क रहेको छ भने जिल्लामा ७६ हजार तीन सय सात जनाको निवेदन परेको छ । रासस