काठमाडौं, १० जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उखु किसानको अनुदान बापतको रकम भुक्तानीका लागि सरकारसँग कुरा राख्ने प्रतिबद्धता जनाएका छ्न । आज (बुधबार) काठमाडौंको माइतिघरमा धर्नामा बसेका उखु किसानहरुसँगको भेटपछि भट्टराईले विश्वमा नै किसानहरुलाई अनुदान दिने प्रचलन रहेकोमा नेपालमा पनि सरकारले यसअघि नै घोषणा गरेको अनुदान वापतको रकम भुक्तानीका लागि प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुरा गर्ने आश्वासन दिएका हुन् ।
भट्टराईले किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान नपाउदा बाहिरबाट आउने कृषिजन्य बस्तुसंग प्रतिष्पर्धा गर्न नसक्दा किसानहरु मारमा परेको बताए । उखु किसानलाई दिईने अनुदानमा भ्रष्टाचार हुनसक्ने देखिएको भन्दै यसमा गम्भीर हुनुपर्ने उनको भनाइ छ । उखु किसानहरुले सवै उखु किसानलाई अनुदानको व्यवस्था गर्नुपर्ने, कृषि उपजको सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मुल्य अनिवार्य रुपमा पाउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।
आर्थिक वर्ष २०७१÷७२ मा सरकारले रु २५ प्रति क्विन्टल अनुदान उखु किसानलाई दिने निर्णय गरेपनि हालसम्म नपाएको भन्दै कपिलवस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिले धर्ना दिँदै आएका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम