काठमाडौं, जेठ ११ । निर्वाचन आयोगले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग सहप्राध्यापक पदमा बहाल रहेका व्यक्तिलाई सदस्यता दिएको विषयमा जवाफ मागेको छ । आयोगले कुन कानुनले दिएको अधिकारबमोजिम सदस्यता दिइएको र त्यसरी सदस्यता दिएकोमा किन कारबाही हुन नपर्ने भन्दै दुवै दलसँग जवाफ माग गरेको छ ।
आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार सो विषयमा जसपा नेपालले केन्द्रीय सदस्य रहेको दाबी गरिएका व्यक्ति गत भदौ महिनामै दलबाट राजीनामा दिएको जवाफमा उल्लेख गरेको छ । नेपाली कांग्रेसले भने जवाफ पठाइसकेको छैन । आयोगमा गत वैशाख २९ गते चार जना सहप्राध्यापक सरकारी सेवामा कार्यरत रहँदै दलको सदस्य रहेकाले कारबाहीको मागसहित उजुरी परेको थियो ।
उजुरीमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रही उमाशङ्कर प्रसाद त्रिवि अर्थशास्त्र विभागमा, नेपाली कांग्रेसको क्रियाशील सदस्य रही जगत तिमिल्सिना त्रिवि व्यवस्थापन विभागमा, कृष्णकान्त पराजुली वाल्मीकि क्याम्पसमा र राजेन्द्र गौतम त्रिचन्द्र कलेजमा कार्यरत रहेको भन्दै छानबिन गरी कारबाहीको माग गरिएको थियो ।
सोही उजुरीका आधारमा चार जना सहप्राध्यापकलाई सदस्यता दिएको विषयमा नेपाली कांग्रेस तथा जसपा नेपाल र त्रिवि उपकुलपतिको कार्यालय, प्राध्यापक कार्यरत विभाग तथा वाल्मीकि विद्यापीठ क्याम्पस र त्रिचन्द्र कलेजसँग स्पष्टीकरण माग गरिएको छ ।
आयोगले उमाशङ्कर प्रसादको विषयमा जवाफ मागेकोमा त्रिवि अर्थशास्त्र विभागले सम्बन्धित विषयमा प्रशासन महाशाखामा अभिलेख रहने हुनाले महाशाखासँग समन्वय गर्न जवाफ पठाएको छ । उपकुलपतिको कार्यालयले भने जवाफ पठाएको छैन ।
त्रिवि व्यवस्थापन विभागले सहप्राध्यापक तिमिल्सिना कार्यरत रहेको जवाफ पठाएको छ । वाल्मीकि क्याम्पसले समेत पराजुली कार्यरत रहेको जवाफ पठाएको छ । अर्का सहप्राध्यापक गौतम त्रिचन्द्र कलेजको रसायनशास्त्र विभागमा कार्यरत रहेको दाबी गरिएको छ । गोरखापत्र दैनिकबाट