Logo

प्रधानमन्त्रीको भारत भ्रमणमा उर्जा क्षेत्र प्राथमिकतामा छ : माधव सापकोटा (भिडिओसहित)



काठमाडौं, ११ जेठ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद माधव सापकोटा (सुवोध) ले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको आन्तरिक गृहकार्य सुरु भैसकेकोले यसपटक उर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौत हुने बताएका छन् । उनले भारतसँग उर्जा सम्झौता गरेर राष्ट्रको हित हुनुपर्नेमा जोड दिए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भारतसँगको मित्रवत् सम्बन्धलाई थप बलियो र कसिलो बनाउनुपर्ने बताए । उनले आफूहरुले भारतसँग विश्वासयोग्य प्रकारको सम्बन्ध बनाउन चाहेको खुलाए ।

सापकोटाले भने–‘सिंगै संसार अहिले अर्थतन्त्रको प्रतिकुलतामा जुधिराखेको छ । त्यो अमेरिका, भारत, चीन सबै अर्थतन्त्रको प्रतिकुलतासँग जुधिराखेका छन् । यस्तो स्थितिमा भारतलाई हामीले सहयोग गर्नुपर्ने कुरा, भारतले हामीलाई सहयोग गर्नुपर्ने कुराका बारेमा केन्द्रित भएर, औपचारिक रुपमा अहिले एजेण्डा सार्वजनिक नभइसकेको अवस्थामा अहिले एक/दुई/तीन यही एजेण्डा हुन्छन् भनेर भन्ने कुरा त्यति परिपक्व हुँदैन होला ।’

उनले प्रधानमन्त्रीको भारत भ्रमणमा प्राथमिकता उर्जा क्षेत्र रहेको दोहोर्याए । उनले प्रधानमन्त्री दाहालको यसपटकको भारत भ्रमण अहिलेसम्म भएका राजकीय भ्रमणहरुमध्ये उपलब्धिमूलक र ऐतिहासिक बनाउने दाबी गरे । उनले भारतसँगको सिमा विवादको समाधान पनि वार्ता तथा सम्वादमार्फत नै हल हुने विश्वास दिलाए । उनले प्रधानमन्त्री दाहालले भारतीय नेतृत्वसँग कन्भिन्स गर्ने र सिमा विवाद हल गर्ने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot