Logo

वडास्तरीय राजस्व अनुगमनको लागि काठमाडौं महानगर राजश्व विभागको पत्राचार



काठमाडौं, ११ जेठ । काठमाडौं महानगरको राजश्व विभागले वडास्तरीय राजस्व अनुगमनका लागि वडा कार्यालयहरुलाई पत्र पठाएको छ । हिजो (बुधबार) पठाइएको पत्रमा वडा क्षेत्रभित्र रहेका सम्पत्तिकर र बहाल कर बुझाए नबुझाएको, व्यवसाय दर्ता र नविकरण भए÷नभएको हेर्नका लागि अनुगमन गर्न भनिएको छ ।

यस्तै, अनुगमन क्रममा अनलाइन राजस्व दाखिला प्रणालीबाट कर दाखिला गर्न प्रोत्साहन गर्न, प्रणाली सञ्चालनका विषयमा जानकारी गराउन अनुरोध गरिएको छ । ज्येष्ठ १ गते बसेको कार्यपालिकाको बैठकले राजस्व अनुगमन गर्ने निर्णय गरेको थियो । अनुगमनमा जनप्रतिनिधि र कर्मचारी रहने पनि जनाईएको छ।

अनुगमन टोलीको छनौट वडा अध्यक्षले गर्ने जनाईएको छ । तोकिएको दिनमा सम्बन्धित करदाताहरुको स्थलमा पुगेर सम्पत्ति कर, बहाल कर र व्यवसाय दर्ता नविकरणको फारम भरिनेछ । यस क्रममा आवश्यक कागजातहरुको प्रतिलिपि समेत लिइनेछ ।

यसरी भरिएका विवरण फारमहरु हरेक दिन वडा कार्यालयमा बुझाइनेछ । वडा कार्यालयमा प्राप्त भएका फारामहरु कम्प्युटरमा इन्ट्री गराएर प्रमाणपत्र तथा कर चुक्ता जारी गरिनेछ । यसवापत तिर्नु पर्ने कर तथा राजस्व सम्बन्धित करदाताहरुलाई अनलाइन प्रणालीबाट तिर्न लगाइनेछ । यसपछि प्रमाणपत्र स्थलगत रुपमा उपलब्ध गराइनेछ ।

अनलाइन प्रणालीबाट राजस्व भुक्तानी नगर्ने करदाताहरुलाई कर बुझाउन र प्रमाणपत्र तथा कर चुक्ता बुझ्न वडा कार्यालयमा नै बोलाइनेछ । अनुगमन टोलीमा दैनिक ८ घण्टा काम गर्नेछन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्