काठमाडौं, १२ जेठ । राजनीतिक विश्लेषक भरत दाहालले आफूमाथि गम्भीर र झुटा आरोप लगाएको भन्दै बझाङका विराटसिंह कडायत न्यायको लागि काठमाडौं आएका छन् । उनले पत्रकार सम्मेलनमार्फत आपत्ति जनाएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै बझाङको छब्बिसपाथिभरा गाउँपालिका घर बताउने कडायतले विश्लेषक दाहालले आफूमाथि झुटा आरोप लगाएको भन्दै दाहालमाथि साइबर क्राइमसम्बन्धी उजुरी दिने पनि जानकारी दिए ।
दाहालले एक युट्युब–च्यानलको ‘चुरो कुरो’ कार्यक्रममा आफूमाथि अमेरिकी सेनालाई बझाङमा सहयोग गरेको भन्ने आरोप लगाएको कडायतको दाबी छ । आफू सुदूरपश्चिम विश्वविद्यालयको प्राध्यापक भएको बताउँदै कडायतले विश्लेषक दाहालले हालै एक सञ्चारमाध्यमा दिएको अन्तर्वाता आपत्तिजनक कुरा भनेको भन्दै दाहालको अभिव्यक्ति झुटो भएको दाबी गरेका छन्।
कडायतले विश्लेषक दाहालले आफूलाई देशविरोधी र अमेरिकी सेनासँग जोडेको भन्दै आपत्ति जनाउँदै बझाङका प्रमुख जिल्ला अधिकारी, कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नामपनि जोडिएको हुँदा सो विषय झनै आपत्तिजनक भएको बताए ।
आफूमाथि लगाएका आरोपहरू पुष्टी हुने प्रमाण भए देखाउन पनि कडायतले दाहाललाई चुनौती दिए। उनले हुँदै नभएको कुरालाई यसरी ल्याइदिएर एउटा मेहनत गरेर सामान्य महिनाको ३०/४० हजार बुझेर परिवार पाल्ने मान्छेलाई अप्ठ्यारोमा पारेको गुनासो पोखे ।
विश्लेषक दाहालले त्यो कुरा बुझेर बोल्नुपर्ने कठायतले बताए। उनले प्रमाण दिए आफू त्यहीनिर झुण्डिएर मर्न तयार रहेकोसमेत बताए । जीवनमा कहिल्यै त्यस्तो क्रियाकलाप नगरेको बताउँदै विधार्थीकालमा राजनीति र हाल प्राध्यापन पेशामा रहेको मान्छेलाई लगाएको आरोप दाहालले सच्याउनुपर्ने भन्दै उनले भने,‘यदि सच्याउनुहुँदैन भने प्रमाणसहित पेश गर्नुहोस्।’
उक्त विषयमा कानुनी उपचारमा जानका लागि आफू छलफलमै रहेको पनि उनले जानकारी दिए । दाहालले उल्लेख गरेको साइपाल गाउँपालिकामा सडक नपुगेको हुँदा गाडी कहाँबाट पुगेको भन्दै कठायतले प्रश्न गरेका छन्। दाहालले बझाङ् जिल्लाकै बेईज्जत गरेको कडायतको आरोप छ।
कुनै व्यक्तिको स्वार्थपुर्तिका लागि दाहालले आफूमाथि आरोप लगाएको उनको दाबी छ । आफूले पहिलो नै उजुरी गर्न खोजेको तर साइबर अपराधअन्तर्गत भएको हुँदा काठमाडौंनै आउनुपर्ने भएकोले आफू काठमाडौं आउनुपरेको उनको भनाई छ ।
दाहालले अपराध गरेको भन्दै त्यस्ता व्यक्तिहरूलाई सम्बन्धित प्रहरी कार्यालयबाटै उजुरी दिन मिल्ने व्यवस्था गर्नुपर्ने कडायतको माग छ। आफूले अहिलेसम्म केही अपराध गरेको प्रमाण दाहालले देखाए आफू जुनसुकै कारवाहीको भागिदार हुने कडायतको जिकिर छ ।
उनले भने,‘कुनैपनि अपराध नगरेको मान्छेलाई एमसीसी जस्तो अमेरिकी सेनाहरूलाई मैले कसरी उनीहरूलाई गाइड गर्न सक्थे । यस्ता कुराहरू राष्ट्रका लागि नै लज्जास्पद कुराहरू हुन्।’ उनले दाहाललाई केही बोल्नुभन्दा पहिला प्रमाणसहित तथ्यसहित बोल्न आग्रह गरे ।
यस्तो थियो दाहालले अन्तर्वाता दिएको भिडियो :