Logo

विकास साझेदारीमा थप आयाम खुल्ने विश्वास



काठमाडौं, जेठ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न भारत भ्रमण दुईपक्षीय सम्बन्ध प्रगाढ बनाउनुका साथै विकास साझेदारीमा सहकार्य गर्न र विगतदेखि अल्झिएर बसेका समस्या समाधानमा केन्द्रित हुने भएको छ।

नेपाल–भारत सिमानामा रहेको अवरोधविहीन जनसम्बन्धका आधारमा आयाम विस्तार हुँदै अहिले विकास साझेदारको अत्याधुनिक युगमा प्रवेश गर्दै अघि बढिरहेको छ। बेलायतको उपनिवेशबाट भारत स्वतन्त्र भएसँगै नेपाल–भारतबीच सन् १९४७ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा भारतको मित्रवत् सहयोग रहँदै आएको छ। नेपालमा प्रजातन्त्र र गणतन्त्र स्थापनापश्चात् लोककल्याणकारी राज्य निर्माणका क्रममा एउटा असल छिमेकीको स्तरमा भारतले सघाउँदै आएको छ।

पछिल्लो समय दुई देशबिचको साझेदारी सीमापार पेट्रोलियम पदार्थको पाइपलाइन, सीमापार रेल्वे सेवा, एकीकृत भन्सार जाँच चौकी, भूकम्पपछिको पुनर्निर्माणसम्म विस्तार भएको छ। तीमध्ये धेरैजसो सम्पन्न भइसकेको अवस्था छ। परराष्ट्र मन्त्रालयको अभिलेख अनुसार दुई छिमेकी देशबिचको सम्बन्ध थप प्रगाढ बनाउने प्रयासमा दुईदेशीय सरकार र कूटनीतिक संयन्त्र सव्रिmय छन्।

भारत नेपालको सबैभन्दा ठुलो द्विपक्षीय विकास र व्यापारिक साझेदार हो। जनस्तरीय सम्बन्ध पर्यटकको आदानप्रदानतर्फ उन्मुख छ। भारतबाट नेपालमा शीतलताको अनुभूति गर्न आउने पाहुना र भारतको समृद्ध इतिहासको अवलोकन गर्न जाने नेपालीको जनसम्बन्धको आयाम व्यापारिक र विकास साझेदारीभन्दा उच्च रहेको छ। अघिल्लो वर्षको व्यापार तथ्याङ्क हेर्ने हो भने नेपालबाट भारतमा १०६ खर्ब रुपियाँ बराबरको निर्यात भएको छ। त्यस्तै ९७१ अर्बको आयात भएको छ। दुई देशबिच देखिएको ठुलो व्यापार घाटाको खाडल पुर्ने विषयमा पनि प्रधानमन्त्री दाहालको भारत भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

नयाँ आमनिर्वाचनपछि गठित पहिलो सरकार भएकाले पनि यो भ्रमण भारत सरकारकै लागि पनि सम्बन्ध नवीकरणको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्