Logo

नागढुङ्गा सुरुङ मार्ग : काम छिटो सक्न निर्देशन



काठमाडौं, जेठ १३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माणाधीन नागढुङ्गा सुरुङ मार्गको काम सम्पन्न गर्न निर्माण कम्पनी तथा सुरुङ मार्गका कर्मचारीलाई निर्देशन दिएका छन्। तोकिएको काम निर्धारित समयमा नै पूरा गर्ने विषयमा कतै पनि सम्झौता नहुने उनले स्पष्ट पारे ।

विश्व बैङ्कका उच्च अधिकारीसहित शुक्रबार सुरुङ मार्गको स्थलगत अनुगमनका क्रममा मन्त्री ज्वालाले सो निर्देशन दिएका हुन् । सुरुङ मार्ग निर्माणका क्रममा निर्माण व्यवसायी वा आयोजनालाई आउने समस्या समाधान गरिने तर कुनै पनि बहानामा आफ्नो दायित्वबाट पन्छिन नमिल्ने उनले बताए। उनले भने, ‘‘दसैँसम्म सुरुङ खन्ने कामको ‘ब्रेक थ्रु’ हुन्छ र आगामी आर्थिक वर्षभित्र गाडी गुड्ने गरी निर्माण सम्पन्न गरिन्छ ।’’

अनुगमनका क्रममा सुरुङ मार्ग निर्माणका क्रममा देखिएका समस्या र चुनौतीबारे समेत जानकारी लिने काम भएको बताउँदै उनले आयोजनालाई अझै आवश्यक रहेको जग्गा प्राप्ति र निर्माण सामाग्रीको सहजताका लागि मन्त्रालयस्तरबाट चाँडै नै समाधान गरिने बताए।

आयोजनाको अहिलेसम्मको भौतिक प्रगति ८२ प्रतिशत छ । कुल पाँच हजार ४९९ मिटर सुरुङ खन्नुपर्नेमा अब ९७९ मिटर मात्र खन्न बाँकी रहेको सो आयोजनाले जनाएको छ । अहिलेसम्म मुख्य र सहायक सुरुङ (इभ्याकुएसन) गरी चार हजार ५२० मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ ।

सुरुङ मार्गभित्र सिर्जना हुन सक्ने आपत्कालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङ मार्गको समानान्तर हुने गरी सहायक सुरुङ मार्ग निर्माण भइरहेको छ । मुख्य र सहायक सुरुङ मार्गलाई प्रत्येक ३७५ मिटरमा सात वटा सहायक बाटो (व्रmस प्यासेज) ले जोड्ने छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot