काठमाडौं,१३ जेठ । काठमाडौँ महानगरपालिकाले हरित विद्यालय अभियान सुरु गरेको छ । महानगरका प्रमुख बालेन्द्र शाहले, आज वडा २५ मा रहेको कन्या माध्यमिक विद्यालयमा विरुवा रोपेर अभियान थालनी गरेका हुन् ।
वन्यजन्तु संरक्षण संघ नेपालसँगको साझेदारीमा यस विद्यालयमा इको–क्लब गठन तथा घोषणा भएको छ ।
नेपाल सरकारको हरित विद्यालय कार्यक्रमलाई प्रवर्धन गर्न महानगरपालिका भित्रका सबै विद्यालयमा वृक्षारोपण गर्ने योजना छ । यहाँ ९० वटा सामुदायिक र ५०४ वटा संस्थागत विद्यालय छन् ।
विद्यालय शिक्षामा सुधार गरेपछि सहरी विकास व्यवस्थापनमा सहयोग पुग्ने भएकोले यसमा लगानी बढाउने महानगरका प्रवक्ता नविन मानन्धरको भनाइ छ ।
‘काठमाडौँ महानगरभित्रको शैक्षिक प्रणालीलाई हामीले २१ औँ शताब्दीको अवस्था परिकल्पना गरेका छौँ ।’ महानगरका शिक्षा सल्लाहकार रेशु अर्याल भन्छन्, ‘हरित विद्यालय कार्यक्रम, सिकाइमा सिप तथा बुक फ्रि फ्राइडे कार्यक्रम कार्यान्वयनमा ल्याइसकेका छौँ । यसको दिगोपनाका लागि साझेदारहरुसँग सहकार्य गर्छौँ ।’
कार्यक्रमको पहिलो चरणमा कन्या मन्दिर माध्यमिक विद्यालय, भानु माध्यमिक विद्यालय, महेन्द्र भवन माध्यमिक विद्यालय, शान्ति निकुञ्ज माध्यमिक विद्यालय, नेपाल युवक माध्यमिक विद्यालय र पदमोदय माध्यमिक विद्यालयलाई हरित विद्यालय कार्यक्रमको नमूना विद्यालयका रुपमा विकास गर्न खोजिएको सहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झा बताउछन् ।
वन्यजन्तु संरक्षण संघ नेपालका निर्देशक सञ्जीवनी योञ्जनका अनुसार बालबालिकालाई वातावरणसँग सम्बन्धित वर्तमान र भविष्यका समस्यासँग जुध्न क्षमता विकास गर्नु क्लव गठनको मुख्य उद्देश्य हो ।