Logo

रोजगारीका लागि बिदेसिनेको सङ्ख्या घट्यो



काठमाडौं, जेठ १४। पछिल्लो पटक वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा ओरालो लागेको छ । नेपाली श्रमिकका गन्तव्य देशमा समेत आर्थिक मन्दीसँगै वैदेशिक रोजगारीका लागि माग कम आएकाले रोजगारीका लागि बिदेसिनेको सङ्ख्यामा ओरालो लागेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा सबैभन्दा कम वैशाखमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । पछिल्लो समय नेपाली युवाको उच्च माग हुँदै आएको मलेसियाले समेत विदेशी श्रमिक कोटा घटाएको छ ।

चालु आर्थिक वर्षको भदौमा वैदेशिक रोजगारीका लागि जारी भएको श्रम स्वीकृति उच्च बिन्दु रहे पनि त्यसयता श्रम स्वीकृति लिने युवा प्रत्येक महिना घट्दो क्रममा रहेका छन् । विभागका अनुसार चालु आर्थिक वर्षको भदौमा ७६ हजार युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकामा वैशाखमा घटेर ५४ हजारमा खुम्चिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले पछिल्लो पटक वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या घट्नुमा युरोपमा माग प्रमाणीकरण हुन नसक्नु, मलेसियामा नेपाली श्रमिकको माग घट्नु र विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दी मुख्य कारण रहेको जानकारी दिए। मलेसिया सरकारले पछिल्लो पटक यसअघि ‘एप्प्रुबल’ भएका आप्रवासी श्रमिक आपूर्ति नभएसम्म नयाँ माग नगर्न स्थानीय रोजगारदातालाई निर्देशन दिएसँगै मलेसियामा नेपाली श्रमिकको माग घटेको उनको बुझाइ रहेको छ ।

गत वर्षको तुलनामा चालु आवको वैशाखसम्म छ लाख ४० हजार युवा वैदेशिक रोजगारीमा गएको तथ्याङ्कले देखाएको छ । यद्यपि यो सङ्ख्या गत आर्थिक वर्षको तुलनाभन्दा बढी हो । गत वर्षको वैशाखसम्म वैधानिक तरिकाले विदेश जानेको सङ्ख्या पाँच लाख ५९ हजार रहेकोमा चालु आर्थिक वर्षको सो अवधिमा यो सङ्ख्या छ लाख ४० हजार पुगेको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जान छ लाख ३५ हजारले श्रम स्वीकृति लिएका थिए । विभागको दुई आर्थिक वर्षको १० महिनाको तथ्याङ्क हेर्दा चालु आवमा दैनिक औसत दुई हजार दुई सयभन्दा बढी युवाले श्रम स्वीकृति लिएको देखिन्छ ।

गत वर्षको फागुनसम्म मासिक औसत ५० हजार युवाले श्रम स्वीकृति लिएकोमा चालु आवमा यो सङ्ख्या मासिक ६४ हजार रहेको छ । चालु आवको साउनमा ६३ हजार, भदौ ७६ हजार, असोज ५६, कात्तिक र मङ्सिरमा ६८ हजार, पुसमा ६५ हजार, माघमा ६४, फागुनमा ६१ र चैतमा ६१ हजार ४७८, वैशाखमा ५४ हजारले श्रम स्वीकृति लिएको देखिन्छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्