Logo

गण्डकी प्रदेशमा प्राकृतिक विपत्ति : १० महिनामा १ सय १७ को मृत्यु



पोखरा, जेठ १४ । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७९/८० को वैशाखसम्म विपतमा परी १ सय १७ जना मानिसले ज्यान गुमाएका छन् । अघिल्लो आवको तुलनामा यस वर्षको १० महिनामै विपत्मा परी मृत्यु हुनेको संख्या बढेको हो । यस्तै, यस अवधिमा १ सय ९ जना घाइते भएका छन् ।

विपतका प्रकारमध्ये सबैभन्दा बढी ‘अन्य’ घटनामा ८७ जनाको मृत्यु भएको छ । यो भनेको गत १ माघमा पोखरामा भएको यती एअर दुर्घटना प्रमुख कारण थियो । ७२ जनाको एकै चिहान भएको सो अकल्पनीय हवाई दुर्घटनाका कारण मानवीय क्षति अघिल्ला आवको तुलनामा बढी छ । यस अवधिमा मृत्यु हुने १ सय १७ मध्ये ७० पुरुष र ४७ महिला हुन् । यस्तै, ७१ पुरुष र ३८ महिला गरी १ सय ९ जना घाइते भएका हुन् ।

आगलागीका घटनामा ११ जना, लेक लागेर ८ जना र पहिरोमा परी ८ जनाको ज्यान गयो । लेक लागेर सबैभन्दा बढी घाइते भए । चालू आवको वैशाख मसान्तसम्म लेक लागेर ४८ जना घाइते भए छन् । तीमध्ये २७ पुरुष र २१ महिला छन् । आगलागीमा २० जना घाइते भएकोमा १४ पुरुष छन् । यस वर्ष विपत्का घटनामा कोही पनि बेपत्ता भने भएनन् ।

विपतका कुल ५ सय ८१ घटनामा सबैभन्दा बढी २ सय १ घटना आगलागीका भए । खासमा बाढी, पहिरो र अविरल वर्षा मनसुनजन्य घटनाअन्तर्गत पर्छन् । त्यसबाहेक आगलागी, चट्याङ, हावाहुरी, हिउँपहिरो, लेक लाग्नु, जनावर आक्रमण, भूकम्पलगायत विपत्जन्य घटना हुन् । आगलागीपछि पहिरोका घटना १ सय ८१ वटा भए । बाढीका ५२ घटना भए ।

चालू आवको वैशाखसम्म विपत्कै कारण ३० करोड १६ लाख रुपैयाँ बराबरको क्षति भएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । मानवीय क्षतिका अलावा चौपायाँ क्षति पनि यस वर्ष बढी भयो । १० महिनामा १ सय ८५ चौपाया मरेका छन् भने २४ वटा घाइते भए । १ हजार ४ सय ७२ पन्छी मरे ।

विपतका कारण ९७ घरमा पुरै क्षति पुग्दा २ सय १८ घरमा आंशिक क्षति भएको प्रहरी कार्यालयले संकलन गरेको विवरणमा उल्लेख छ । २३ सवारी साधनको पुरै क्षति हुँदा १४ गाडीमा आंशिक क्षति पुगेको छ ।

गण्डकी प्रदेशमा विपत्का घटनामा सामान्यः बर्सेनि सरदर सय जना मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् । १ सयदेखि २ सय जना मानिस घाइते हुने गरेका छन् । अकल्पनीयरूपमा आउने विपत्का कारण मानवीय क्षति त छँदै छ, भौतिक क्षति पनि उत्तिकै भएको छ । आजको राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्