Logo

हजारौंले लिन्छन् पेन्सनसँगै दोहोरो सुविधा



काठमाडौं, जेठ १४ । सरकारले वर्षमा साढे एक खर्ब सामाजिक सुरक्षा भत्तामा खर्च गरे पनि लक्षित वर्गसम्म कार्यक्रम पुग्न सकेको छैन। तर लक्षित वर्गभन्दा बाहिर र राज्यबाट एउटा सुविधा लिइरहेकाले समेत यसबाट फाइदा उठाइरहेको पाइएको छ।

सीमित स्रोतका कारण सामाजिक सुरक्षा कार्यक्रम अगाडि बढाउदा राज्यलाई भार परिरहेका बेला पेन्सन खाइरहेकाहरू पनि सामाजिक सुरक्षा भत्ता थापिरहेका छन्। नैतिक र कानुनी दुवै हिसाबले बन्देज गरे पनि कर्मचारीहरू पेन्सनसँगै सामाजिक सुरक्षाभत्ता पनि थापिरहेका छन्। यो संख्या सयमा होइन हजारौं रहेको पाइएको छ।

सामाजिक सुरक्षा ऐन, २०७५ को दफा १५ (ग) मा ‘अन्य कुनै प्रकारले नियमित रूपले पारिश्रमिक, निवृत्तीभरण, अवकाश सुविधा एवम् अन्य सुविधा पाइरहेको व्यक्ति’ सामाजिक सुरक्षा भत्ता नपाउने उल्लेख छ।

कानुनमा आर्थिक रूपमा विपन्न, अशक्त र असहाय अवस्थामा रहेका एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, लोपोन्मुख जातिका नागरिकका लागि सामाजिक सुरक्षाभत्ता व्यवस्था गरेको हो।

सेवा निवृत्त कर्मचारीहरूले पेन्सन र वृद्ध भत्तासमेत दोहोरो लाभ लिइरहेको तथ्य बाहिर आएपछि केही व्यक्तिको सुविधा भने कटौती हुन थालेको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यो वर्षदेखि वर्षौंदेखि दोहोरो लाभ लिएकाहरूको सामाजिक सुरक्षाभत्ता कटौती गर्न थालेको हो। महालेखा परीक्षकको कार्यालयले गत वर्ष २ हजार ४ सय ४४ जनाले पेन्सन र सामाजिक सुरक्षा भत्ता गरी दोहोरो सुविधा लिइरहेकाले सुविधा कटौती गर्न र सामाजिक सुरक्षा कार्यक्रममा समावेश नगर्न सरकारलाई भनेको थियो।

पञ्जीकरण विभागले प्रणालीबाटै यसरी दोहोरो सुविधा पहिचान गरी सुविधा कटौती गर्न थालेको हो। यो वर्ष मात्रै ८ हजार व्यक्तिले दोहोरो पेन्सनसँगै सुविधा लिएको पाइएपछि ती व्यक्तिको नाम लाभग्राहीको सूचीबाट हटाइएको पञ्जीकरण विभागले जानकारी दिएको छ।

पञ्जीकरण विभागले निवृत्तीभरण पाइरहेकाको वृद्धभत्ता रोक्न स्थानीय तहलाई परिपत्र गरे पनि पेन्सन वितरणको सिस्टम र सामाजिक सुरक्षा वितरणको प्रणाली आपसमा नजोडिएकाले अझ पनि राज्यले संख्या पहिचान गर्न सकेको छैन।

विभागले ८४ हजार ७ सय ६३ जनाले पेन्सन सहित सामाजिक सुरक्षा भत्ता पनि बुझेर राज्यबाट दोहोरो लाभ लिइरहेको भन्दै स्थानीय तहलाई पुष्टि गरी लगत कट्टा गर्न भनेको थियो तर स्थानीय तहले पुष्टि गरी लगत कट्टा भने गरिनसकेको विभागको भनाइ छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्