काठमाडौं, १४ जेठ । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले संसदीय सुनुवाइ समितिमा साना पार्टीलाई निषेध गरिएको र ठूला दलहरुले सिण्डिकेट चलाएको आरोप लगाएका छन् ।
आज (आइतबार) बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तावित सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को मस्यौदामाथिको छलफलमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
सांसद साहले आपसी प्रतिस्पर्धा लोकतन्त्रको मुटु भए पनि ठुला पार्टीहरू प्रतिस्पर्धा भन्नेबित्तिकै डराएको र राजनीतिक नियुक्तिमा आफू खुसी बाँडेर लिएको पनि आरोप लगाए ।
राजनीतिक नियुक्तिमा चेक एण्ड ब्यालेन्सकै लागि संसदीय सुनुवाइ समितिहरूको व्यवस्था गरेको स्मरण गराउँदै साहले अहिले ती समितिहरू ठुला पार्टीहरूलाई मनमौजि तरिकाले बाँडी खाने केन्द्र बनेको दाबी गरे । संसद्को १ सिटे पार्टी भए पनि राजनीतिक नियुक्तिमा प्रतिस्पर्धात्मक प्रणालीमा भाग लिन पाउनुपर्ने उनको भनाई थियो ।