लुम्बिनी, १५ जेठ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले अग्रगामी विचार राख्ने दलहरूबीचको बलियो एकता र सहकार्यले मात्र समाजवादको सपना पूरा हुने बताएका छन् । उनले गणतन्त्रको मुख्य उद्देश्य र लक्ष्य पनि समाजवाद रहेकाले लक्ष्य हासिल गराउनेतर्फ लाग्न सबैमा अनुरोध गरेका छन् ।
सोह्रौँ गणतन्त्र दिवसका अवसरमा आज यहाँ जारी गरेको शुभकामना सन्देशमा प्रदेश प्रमुख शेरचनले समुन्नत राष्ट्र निर्माण र जनताको समृद्धि प्राप्त गर्न १९ दिने महान् जनसङ्घर्षमा सहभागी दलहरूको एकता एवं समझादारीले मात्र संविधानको रक्षा र संविधानलाई अपनत्व नलिने तत्वहरूका विरुद्ध बलियो स्तम्भ बन्न सक्ने बताएका छन् । “त्यसले मात्र राष्ट्रिय औद्योगिक विकासलाई विस्तार गर्दै आत्मनिर्भर अर्थतन्त्रमा फड्को मार्न सकिने छ”, उनले भने, “समाजवादी व्यवस्था स्थापनाका लागि मार्गप्रशस्त हुने छ, सहिदहरूको बलिदान सार्थक हुने छ ।”
नेपाली जनताले प्राप्त गरेको यो सीमित गणतन्त्र दिवसले वंश परम्परामा आधारित निरङ्कुश सामन्ती राजतन्त्रात्मक शासनलाई अन्त्य गरेको दिन भएकाले यो आफैँमा दीर्घ ऐतिहासिक रहेको बताएका छन्। “आजैका दिन म के स्पष्ट गराउन चाहन्छु भने प्रतिगमनविरुद्धको सङ्घर्षका बेला तत्कालीन राजतन्त्रसँग सझौता गरेको भन्ने हल्ला विल्कुलै कपोलकल्पित र निराधार हुन”, सन्देशमा उनले भने, “प्रतिगमनविरुद्ध सङ्घर्षरत तत्कालीन सात दलका नेताहरूले हस्ताक्षर गरेको सझौतापत्र सार्वजनिक गर्न ती तत्वहरूलाई चुनौती दिन चाहन्छु ।” रासस/File Photo