काठमाडौं,१६ जेठ । विगतका वर्षहरुमा विभिन्न कारणले लक्ष्यभन्दा कम सङ्ख्यामा पुल निर्माण भए पनि चालु आर्थिक वर्षमा लक्ष्यअनुसार नै पुल निर्माण सम्पन्न हुने देखिएको छ ।
चालु आवमा कुल दुई सय ८० पुल निर्माणको लक्ष्य लिइएकोमा हालसम्म दुई सय ६५ पुल बनिसकेको र धेरै अन्तिम अवस्थामा रहेको विभागका महाशाखाका प्रमुख नरेशमान शाक्यले बताए ।
कतिपय पुलहरु अन्तिम अवस्थामा रहेकाले तीनमा थप बजेट आएमा चालु आवमै सम्पन्न हुने उनले जानकारी दिए । उनले भने, “काम भइसकेको भए पनि भुक्तानी हुन बाँकी रहेकाले प्रगति राम्रो हुने देखिएको छ ।”
पुलका कतिपय भागको काम वर्षाको समयमा गर्न नमिल्ने हुँदा तत्काल रकम प्राप्त हुँदा मात्रै निर्माण सम्पन्न हुनसक्ने अवस्था रहेको महाशाखाले जनाएको छ ।
‘स्लाब कास्टिङ’ वर्षा पहिले गर्नुपर्ने र वर्षामा गर्दा बगाउने सम्भावना रहने उनले बताए । उनले भने, “फाउन्डेसनको काम वर्षा पहिले सुरु गर्न सकिँदैन ।”
सरकारले चालु आवमा पुल निर्माणका लागि १० अर्ब ६३ करोड र पुलसम्बन्धी अध्ययनका लागि ६० करोड विनियोजन गरेको थियो । सङ्घीयता कार्यान्वयनमा आइसकेपछि स्थानीय पुल निर्माणको जिम्मेवारी स्थानीय तहको हुने भए पनि अहिलेसम्म सङ्घीय सरकारले पुल निर्माण गर्दै आएको छ । रासस file photo