Logo

भारतलाई नेपालको माईक्रो-म्यानेजमेन्टबारे चासो छैन : पूर्वराजदूत राय (भिडिओसहित)



नयाँ दिल्ली, १७ जेठ । नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रायले नेपाल अब आर्थिक एजेण्डामा फोकस हुनुपर्नेमा जोड दिएका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग प्राइम टिभीको लागि कुरा गर्दै पूर्वराजदूत रायले यस्तो बताएका हुन् ।

उनले भने,”नेपाल भारतबीच अनुपम सम्बन्ध छ । अब दुई देशबीच आर्थिक एजेण्डा हुनुपर्छ ।” रायले भारतले लिम्पियाधुर र लिपुलेक कुनै हालतमा नछोड्ने बताए । उनले नेपालले भ्रमणको क्रममा सिमा विवादको विषय उठायो भने द्धिपक्षीय सम्बन्ध जटिल बन्ने चेतावनी दिए ।

उनले नेपाल र भारतबीच ९८ प्रतिशत सिमा विवाद समाधान भैसकेको दाबी पनि गरे । उनले भारत सूस्ता र कालापानीबारे वार्ता गर्न तयार रहेको भएपनि लिम्पियाधुरा र लिपुलेकबारे कुनै कुरा नगर्ने टिप्पणी गरे । उनले नेपालले संविधान संशोधन गरेर लिम्पियाधुरा, लिपुलेक आफ्नो नक्सामा राखेकोले अब उक्त विषय संसद्को विषय बनेकोले विषय जटिल बनेको दाबी गरे ।

उनले अब नेपालले यसलाई इस्यु बनाउन नहुने जिकिर गरे । सिमा विवादबारे नेपालमा दबाब भएपनि भारतमा सिमा विवाद नबन्ने उनको भनाई छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सिमा विवादबारे केही मतलब नभएको दाबी गरे ।

उनले नेपालको हरेक परिवर्तनमा भारतको साथ र सहयोग रहेको स्मरण गराए । भाजपाले नेपालमा हिन्दूराष्ट्र र राजा फर्काउन चाहेको जस्तो आफूलाई नलागेको उनको दाबी छ । भारत नेपालको लोकतन्त्रप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै भारतलाई अब नेपालको माईक्रो म्यानेजमेन्टबारे पनि कुनै चासो नभएको रायको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot