काठमाडौ, जेठ १७ । घोराही सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । उद्योग प्रभावित क्षेत्रका बासिन्दाले बुधबार कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले १९ वैशाखदेखि प्रिमियममा आईपीओ निष्कासन गरेको हो । यस सिमेन्टले ३ लाख ९७ हजार १९० कित्ता आईपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको छ ।
घोराहीले फेस भ्याल्यू एक सय रुपैयाँमा तीन सय रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता चार सय रुपैयाँको दरले आईपीओ जारी गरेको हो । उक्त उद्योग प्रभावित क्षेत्र दाङ जिल्लाको घोराही उप महानगरपालिका वडा नं १, २, ३, ८, १४, १५, १७, १८ र १९ का बासिन्दाले आवेदन दिन सक्नेछन् । त्यस्तै, दाङ जिल्ला, बंगलाचली गाँउपालिका वडा नं ३, ४ र रोल्पा जिल्लाको त्रिवेणी गाँउपालिका वडा नं ३ र ४ का बासिन्दाहरुको लागि छुट्याएको छ ।
स्थानीय बासिन्दाले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेका छन् ।