काठमाडौं, १७ जेठ । नागरिक उन्मुक्ति पार्टीकी नेतृ तथा महिला विभाग प्रमुख एलिजा गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा सिमा विवाद समाधानको लागि महत्वपूर्ण कदम चाल्नुपर्ने सुझाव दिएकी छिन् । प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानुअघि नेतृ गौतमले सामाजिक सञ्जालमार्फत नेपाल र नेपालीको हितमा हुनेगरि भारतीय समकक्षीसँग कुरा राख्न सुझाएकी हुन् ।
उनले सिमा विवाद समाधान, व्यापार घाटा न्यूनिकरण, उर्जासम्बन्धी दीर्घकालिन सम्झौतालगायतका विषय जोडदार रुपमा उठाउन सुझाव दिएकी छिन् । यस्तै, उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध हल गर्न गठित प्रवुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन पनि सार्वजनिक गर्न पहल लिनुपर्ने सुझाव दिएकी छिन् ।
यस्तो नेतृ गौतमले सञ्जालमार्फत प्रधानमन्त्री दाहाललाई दिएको सुझाव :
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यू आज (बुधबार) चारदिने भ्रमणको लागि भारत जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीको भारत भ्रमण सफलताको कामना गर्दछु । भ्रमण फलदायी होस । नेपाल र नेपालीको हितमा केन्द्रित होस । भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तामा प्रधानमन्त्रीज्यूले आँखामा आँखा जुधाएर आफ्नो देशको हितमा कुरा राख्न सक्नुपर्छ । सिमा विवाद समाधानबारे कुरा राख्नुपर्छ । खासगरी कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद दिर्घकालिन रुपमा समाधान हुनुपर्छ ।