Logo

‘भ्रमण सद्भावना अभिवृद्धिमा केन्द्रित’



नयाँ दिल्लीं, जेठ १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजदेखि सुरु गरेको भारत भ्रमण सद्भावना अभिवृद्धि गर्न केन्द्रित रहने बताएका छन् ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा बुधवार राती आयोजित रात्रिभोजसहितको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आपसी विश्वास तथा सद्भावना अभिवृद्धि गर्दै नेपाल र नेपालीको हितमा भ्रमण केन्द्रित रहने बताए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा नयाँ दिल्ली आएको उल्लेख गर्दै उनले यस अवसरमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल हुने उल्लेख गरे ।

नेपाल र भारतबिच सदियौँ पुरानो जनस्तरको सम्बन्ध रहेको दोहो(याउँदै प्रधानमन्त्रीले यस भ्रमणपछि दुई देशबिचको मैत्री सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले भारतमा अध्ययन, रोजगारीलगायत अन्य काममा रहेका नेपाली आफैँमा सद्भावना दूत रहेको उल्लेख गर्दै उनीहरू नेपालको हितमा केन्द्रित रहेकामा प्रसन्नता व्यक्त गरे। उनले भारतमा सिकेको सीप तथा ज्ञानलाई मुलुकको समृद्धिका लागि खर्चनसमेत आग्रह गरे ।

नेपाली जहाँ रहे पनि नेपाल र नेपालीको हितमा रहने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रदान गर्न सरकार क्रियाशील रहेको बताए।

प्रधानमन्त्रीले सरकारले हालै मात्र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेत सामाजिक सुरक्षाको अभियानमा संलग्न गराएकाले त्यसबाट लाभ लिन भारतमा रहेका नेपालीलाई आग्रह गरे।

कोभिडका कारण समस्यामा परेको अर्थतन्त्र क्रमशः सुधारका क्रममा अगाडि बढेको जानकारी दिँदै उनले वर्तमान सरकार गठन भएपछि अर्थतन्त्र सुधारका लागि दत्तचित्त भएर लागेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्