Logo

प्रधानमन्त्रीको भारत भ्रमण आर्थिक एजेन्डामा केन्द्रित



काठमाडौं, जेठ १९ । प्रधानमन्त्री पुष्पकमल दाहालको जारी भारत भ्रमणका क्रममा द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारका निम्ति कयौं सम्झौता गर्नुभएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सम्झौतामध्ये अधिकांश आर्थिक विशेषगरी ऊर्जासँग सम्बन्धित सम्झौताहरु भएका छन् ।

दीर्घकालीन विद्युत् व्यापार सम्झौता, फुकोट–कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि भारतीय कम्पनी एनएचपीसीलाई जिम्मा दिने, भारतीय कम्पनी सतलज विद्युत् निगमलाई ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्न दिने, न्यू बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइन’को शिलान्यास, दुई स्थानमा पेट्रोलियम पाइप लाइन निर्माण गर्ने, नेपाल–भारतबीच अन्तर्देशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौता प्रमुख छन् ।

त्यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति, दोधारा– चाँदनी सुख्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माण गर्ने, कुर्था–बिजालपुर रेलवे खण्डको ई–प्लान’, सुनौली–भैरहवा एकीकृत भन्सार जाँचचौकी, नेपालगन्ज रूपैडिया एकीकृत भन्सार जाँचचौकीकोे शिलान्यासजस्ता आर्थिक एजेन्डामा प्रधानमन्त्रीको भारत भ्रमण केन्द्रित भएको छ ।

नेपालले भारतसँग दीर्घकालीन विद्युत् व्यापार गर्नका निम्ति मार्ग खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरेसँग सो मार्ग खुलेको हो ।

सम्झौताअनुसार भारतले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने भएको छ । सम्झौतालाई मन्त्रिपरिषद्ले अनुमोदन गरेपश्चात कार्यान्वयन आउने बताइएको छ । यसअघि अल्पकालीन विद्युत् व्यापार सम्झौताअनुसार विद्युत् खरिद बिक्री हुँदै आएको थियो ।

सम्झौतासँगै नेपालमा उत्पादित विद्युत्को बजार भारतसम्म बिस्तार हुने भएको छ । साथै माथिल्लो तामाकोशीलगायतका आयोेजनाको बिजुलीसमेत भारतीय बजारमा बिक्री गर्नका निम्ति सहज हुने जनाइएको छ । त्यस्तै नेपालको ऊर्जा व्यापारमा भारतीय लगानी विस्तार भई रणनीतिक महत्वका आयोजना अगाडि बढ्ने विश्वाससमेत गरिएको छ । नेपालमा भारतीय लगानीमा माथिल्लो अरुण, तल्लो अरुणलायातका केही रणनीतिक जलविद्युत् आयोजनाहरू निर्माण भइरहेका छन् ।

साथै नयाँ आयोजनाको विकास गर्न भारतीय लगानीकर्ता इच्छुक देखिएको सन्दर्भमा दीर्घकालीन विद्युत् व्यापार सम्झौताले निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाका बिजुलीले समेत बजार पाउने भएको छ । हाल नेपाल विद्युत् प्राधिकरणले खुल्ला बजारबाट प्रतिस्पर्धाका आधारमा १५÷१५मिनेटको ब्लकमा फरक–फरक मूल्य कायम गरी विद्युत् खरिद बिक्री गर्दै आएको थियो ।

भारतीय बजारमा नेपालबाट उत्पादित विद्युत्को बजार सुनिश्चित भएपछि नेपाल–भारत व्यापार घाटाको खाडल पनि न्यूनीकरण हुँदै जाने अपेक्षा दीर्घकालीन विद्युत् व्यापार सम्झौताबाट गरिएको छ ।

फुकोट–कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी एनएचपीसीको समेतको लगानीमा निर्माण अगाडि बढ्ने भएको छ । नेपाल सरकारको स्वामित्वमा स्थापित विद्युत् उत्पादन कम्पनीले निर्माण प्रक्रिया थालनी गरेको ४२६ मेगावाट क्षमताको सो आयोजना नेपाल–भारतको संयुक्त लगानीमा अगाडि बढ्ने भएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्