काठमाडौं, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग उर्जासम्बन्धी हिजो भएको समझदारी महत्वपूर्ण रहेको भन्दै अब नेपालमा लगानी भित्रिने बताएका छन् । आज (शुक्रबार) विहान नयाँ दिल्लीमा पत्रकाहरुसँगको संक्षिप्त कुराकानीमा दाहालले यस्तो दाबी गरेका हुन् ।
उनले हिजो भएको विद्युत सम्झौता ब्रेक थु भएको दाबी गरे । सो क्रममा उनले आफूले हिजा (बिहीबार) मात्रै भारतीय समकक्षी नरेन्द्र मोदीसँग खुलेर तीनपटक वान टु वान कुराकानी गरेको स्मरण गराए ।
यस्तै, उनले मोदीसँगको भेटमा नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदनको विषय उठाएर माहोल बिगार्नतर्फ आफू नलागेको स्पष्ट पारेका छन् । नेपालमा विभिन्न दलका नेताहरु र मिडियाले यो भ्रमणको क्रममा इपिजीको प्रतिवेदनको विषयमा भारतीय समकक्षीसँग कुरा राख्न सुझाव दिएका थिए ।
उनले भने,”ईपीजीको विषय उठ्दै उठेन‚ उठाएर माहोल बिगार्नतिर पनि लागिएन । यो कुरा उठाएको भए माहोल बन्दैन थियो । फेरि यसैलाई उठाएर हुने कुरा पनि किन बिगार्ने भन्ने भयो, ईपीजीको विषय नेपालमा हामीले गम्भीरतापूर्वक लिएका हौं । मलाई के लाग्यो भने यही विषयमा विवाद गरेर सबै काम अड्काएर राख्नुभन्दा फुकाउने काम सबै फुकाउँदै गयो भने पछि वातावरण बनाएर यो ईपीजी पनि एउटा विन्दुमा गएर सम्बोधन हुन्छ ।”