काठमाडौं,२० जेठ । । वर्षौंदेखि भग्नावशेषका रुपमा रहेको मण्डनदेउपुर नगरपालिका–९ स्थित पुरानो ऐतिहासिक ‘नर्बन्दा पाटी’ पुनःनिर्माण सुरु गरिएको छ ।
पुरातत्व विभागको आर्थिक सहयोगमा निर्माण सुरु भएको पाटीको मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबाले शिलान्यास गरे । नर्बन्दा नाम गरेकी चेलीले सो पाटी निर्माण गरेको किम्वदन्ती छ । पाटी कति वर्ष अघि निर्माण गरिएको भन्ने यथार्थ मिति नभेटिए पनि कम्तीमा दुई सय वर्षभन्दा बढी पुरानो भइसकेको अनुमान छ ।
जीर्ण रहेको अवस्थामा रहेको उक्त संरचना २०७२ सालको भूकम्पका कारण थप जीर्ण बनेको थियो । जसको पुनःनिर्माणका लागि अहिले पुरातत्व विभागले रु १५ लाख ६६ हजार आठ सय ५२ बजेट व्यवस्थापन गरेर काम अगाडि बढेको हो । पाटी चालु आर्थिक वर्षमा एक तला निर्माण हुनेछ भने आगामी आवमा पुनःनिर्माणको सम्पूर्ण काम सकिने निर्माण कम्पनी पञ्चस्तम्भ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालिको भनाइ छ ।
पुरातात्विक तथा सार्वजिक महत्वका सम्पत्ति संरक्षण गर्ने राज्यको कर्तव्य भएको र त्यसको संरक्षणका लागि पुरातत्व विभागबाट बजेटको व्यवस्थापन भएपछि पुनःनिर्माण सुरु भएको नगरप्रमुख वाइबाले बताए।
नगरप्रमुख वाइबाले काम हुँदै गर्दा निर्माणको रेखदेख गर्न स्थानीयलाई आग्रह गरेका छन । “नगरपालिकाले पनि अनुगमनलाई विशेष ध्यान दिन्छ”, उनले भने , “उपभोक्ताले पनि जिम्मेवारीका साथ निर्माण भइरहँदा अवलोकन गरिरहनुपर्छ ।”
काम बिग्रिएपछि टीकाटिप्पणी गर्नुभन्दा हुँदै गर्दा कमीकमजोरी औँल्याउन सक्यौँ भने राम्रो हुने उनको भनाइ छ । नगरपालिकाले जीर्ण रहेको बालुवा पाटी, रायोबारीको पाटीलगायतका विभिन्न मठमन्दिर तथा पाटी पुनःनिर्माणका लागि पुरात्व विभागमा प्रस्तावना बुझाइसकेको अध्यक्ष वाइबाले बताए ।
नगर उप्रमुख विष्णुमणि नेपालले निर्माण कम्पनीलाई गुणस्तरीय काम गर्न निर्देशन दिएका छन । ऐतिहासिक पाटी पुनःनिर्माणमा कोही कसैले खेलाची नगर्न आग्रह गर्दै प्राविधिक अनुमानित लागतअनुसार निर्माण भए नभएको हेर्न स्थानीयलाई समेत अनुरोध गर्नुभएको छ ।
पुरातात्विक महत्वको संरचना भावी पुस्ताका लागि समेत चिनारीका रुपमा संरक्षण गर्नु सबैको दायित्व भएको उनले बताए। वडा नं ९ का अध्यक्ष सीताराम श्रेष्ठले पाटी निर्माणपछि व्यवस्थित ढङ्गले सञ्चालन गर्न छुट्टै समिति गठन गर्ने बताए । रासस