Logo

नेपालमा विकास नहुनुको कारण राजसंस्था भएको एस.डी. मुनीको आरोप (भिडिओसहित)



काठमाडौं, २० जेठ । नेपाल मामिलाका जानकार भारतीय प्रोफेर डा. एसडी मुनीले नेपालको विकास नहुनुमा राजसंस्थाको हात रहेको आरोप लगाएका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै मुनीले यस्तो आरोप लगाएका हुन् ।

उनले भने,‘तपाईंको देशमा विकास मोनार्कीले गरेन, तपाईँहरुको विकास भएन । किनकी मोनार्कीको पछि पनि आएका सरकारले गरेनन् । यो त उनीहरुको जिम्मेवारी हो नि । भारतको कहाँबाट जिम्मेवारी भयो त्यो ?’ नेपाललाई हिन्दूराष्ट्र बनाउने भाजपाको एजेण्डा हो भने त्यो पनि गलत रहेको उनको टिप्पणी छ । उनले भने,‘नेपाललाई हिन्दूराष्ट्र बनाउन भाजपाको केही विभागको ईन्ट्रेष्ट छ । र, त्यो एकदम गलत हो । भारतमा भाजपाले हिन्दूराष्ट्र बनाए, भारत टुट्छ । नेपालमा पनि बनाए, त्यहाँ पनि समस्या हुनेछ ।’ उनले इपिजीको प्रतिवेदन भारतले स्विकार नगर्ने जिकिर गरे । उनले इपिजीको प्रतिवेदन सार्वजनिक गर्न नेपाल पक्षलाई चूनौति दिए ।

मुनीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत यात्राको एक उद्देश्य भनेको आर्थिक विकास भएको बताए । उनले भने,‘मेरो विचारमा प्रचण्डजीको केमेष्ट्री भारत सरकारसँग कहिल्यै पनि मिलेको थिएन । अब भने मिल्दैछ । प्रचण्डले आफ्नो सत्ता स्थायित्वको लागि भारतसँग केमेष्ट्री मिलाउन खोजेका छन् । यो सबलाई चाहिन्छ । नेपालका सबैलाई भारतको समर्थन चाहिन्छ।’

उनले भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले महाराष्ट्रको मन्दिरमा गरेको पूजालाई लिएर कुनै आश्चर्य मानेनन् । बरु नेपालमा कोही पनि सच्चा कम्युनिष्ट नभएको मुनीको आरोप थियो । उनले भने,‘प्रचण्डले आफ्नो पत्नीको स्वास्थ्यको लागि पूरा गरेको भनेका छन् । हुन त नेपालका सबै कम्युनिष्ट नेताहरु ब्राम्हण हुन । सबै उच्च जातिका हुन् । यिनीहरुे के को कम्युनिष्ट हुन ? यिनीहरु कम्युनिष्ट भएको भए देशको ढाँचा बदलिईहाल्थ्यो नि । ओलीजी, माधव नेपालजी, खनालजी सबै कम्युनिष्ट हुन् । सबै सत्तामा थिए । बाबुराम भट्टराई पनि । उनी मेरो साथी होईनन । उनी हाम्रो विश्वविद्यालयमा विद्यार्थी थिए । मैले उनलाई पढाएको छैन् । यिनीहरु सच्चा कम्युनिष्ट भएको भए देश बदल्ने थिए नि । कोशिस त गर्दथे नि ।’

उनले नेपालको विकास नहुनुमा सरकारको स्थायित्व नहुनु पनि प्रमुख कारण रहेको खुलाए । उनले भने,‘नेपालको इतिहासमा अहिलेसम्म ५ वर्ष पूरा कार्यकाल कसैले पनि सरकार चलाएको छैन् । यो दुर्भाग्यको कुरा हो ।’ उनले नेपालले पनि भारतको मािमलामा हस्तक्षेप गरेको आरोप लगाए । उनले भने,‘नेपालका राजाहरुले हिन्दुस्तानका एमपीजलाई चुनाव लड्नको लागि पैसा दिन्छन् । यो हस्तक्षेप होईन ?’

उनले नेपालका प्रधानमन्त्री दाहालको भारत भ्रमणपछि नेपाल–भारत सम्बन्ध सुमधुर हुने दाबी गरे । उनले भने,‘यो भ्रमण राम्रो भयो । अब उर्जा, कनेक्टिभिटीको मामिलामा अघि बढ्छ । आपसी विश्वास बढेपछि आगामी दिनमा सम्बन्ध सुधार हुन्छ ।’ उनले दुई देशबीच भएका सहमति र सम्झौता कार्यान्वयन हुने कुरा दुवै देशमा नै भर पर्ने बताए । उनले भने,‘नेपालको उर्जाको विकासमा भारतको सद्भाव छ । नेपालको व्यापार घाटा कम होस भन्ने भारतको चाहना छ । अहिले पेट्रोलियम पाईपलाईन अघि बढाउन चाहेको छ । नेपाल र भारत दुवैले सहमति कार्यान्वयन गर्नुपर्छ ।’

मुनीले सिमा विवादको समाधानको लागि दुवै पक्ष तयार र गम्भीर हुनुपर्नेमा जोड दिए । तर, नेपालले सिमा विवाद बढाउने काम आँफै गरेको उनको आरोप थियो । उनले भने,‘केपी ओलीले सिमाको मुद्दा उठाए, संविधानमा पनि राखेर जलिटता बनाए । नेपाल पक्षले सिमा विवाद जटिल बनायो । राष्ट्रवादसँग जोडेको छ । सिमा विवाद समाधान नगर्ने भनेर भारतले कहाँ भनेको छ ? वार्तालापको माध्यमबाट सिमा विवाद समाधान गर्नुपर्छ । दुवै देशले आफ्नो ऐतिहासिक दस्तावेज राख्नुपर्छ ।’

उनले दुई देशबीचको सिमा विवादको लागि धेरै विकल्पहरु खुला रहेको स्मरण गराए । उनले भने,‘यो समस्याको समाधान निकाल्नको लागि दुवै तर्फले मन बनाउनुपर्छ । मोदीले सबै समस्या समाधान गर्नुपर्छ भनेका छन् । तर, सिमा विवाद यतिबेला हल गर्ने भनेर प्रचण्ड र मोदीले दुवैले समयसिमा तोकेका छैनन् ।’ मुनीले भारतले नेपाललाई थप एयर रुट दिनुपर्ने धारणा राखे । उनले थपे–‘हरेक देशका आफ्नो आफ्ना प्राथमिकता हुन्छन् । भारतले आफ्नो प्राथमिकता हेर्छ नि ।’



प्रतिक्रिया दिनुहोस्