Logo

बंगलादेश मोडलमा उदारतासाथ सीमा विवाद समाधान गर्न सकिन्छ : कूटनीतिज्ञ उपाध्याय



काठमाडौं, २१ जेठ । कूटनीतिज्ञ दीपकुमार उपाध्यायले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी नपुगेको टिप्पणी गरेका छन् ।
‘कूटनीतिमा कहिले पनि नमिठो र नराम्रो भनिँदैन । उच्चस्तरीय भेटघाट विश्वासको वातावरण बनाउने अवसर हो । हाम्रा तर्फबाट जति तयारी थियो, त्यही अनुसार परिणाम आएको छ । नेपालको अपेक्षा वा भारतको अपेक्षा अनुसार सबै कुरा सुल्झिन सकेको देखिँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उपाध्यायले भने ।
नेपालमा इन्स्टिच्युसनल मेमोरी (संस्थागत स्मृति) कमजोर भएको पनि उपाध्यायले बताए । उनले भने, ‘विगत नौ वर्षमा हामीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जेजति गरेका सैद्धान्तिक सहमति थियौं, त्यसको कार्यान्वयन निराशाजनक छ । हाम्रो इन्स्टिच्युसनल मेमोरी नै छैन । हिजो के भन्यौं, हामी चाँडै बिर्सन्छौं ।’ नेपालमा उत्पादित सस्तो ग्रीन इनर्जी नलिँदा भारतीय जनताले थर्मल प्लान्टबाट उत्पादित महँगो बिजुली उपयोग गर्नु परिरहेको अवस्था बुझिनसक्नुको भएको पनि उनले बताए ।
पूर्व राजदूत उपाध्यायले नेपालको पानीको बहुउपयोग हुन सके नेपालको चुरे र भारतको उत्तर प्रदेश र बिहार स्वर्ग हुने पनि उनले औंल्याए । उनले भने, ‘पानीको बहुउपयोग गर्न सके स्वर्ग बन्छ, नभए जीवन अभिशाप हुन्छ ।’ भारतले रामायण सर्किटको कुरा गरे पनि बौद्ध सर्किट छाडेको र गौतम बुद्ध अन्तरराष्ट्रिय एयरपोर्टलाई रुट नदिएकामा उनले आपत्ति जनाए ।
सीमा विवादमा दुवै देशबीच विश्वासको वातावरण बनाउनुपर्ने उपाध्यायले बताए । उनले थपे, ‘नेपालको आफ्नो अपेक्षा स्पष्ट भन्न सक्नुपर्छ । भारतले पनि आफ्नो अपेक्षा स्पष्ट भन्नुपर्छ । भारतले बंगलादेशसँगको सीमा विवाद उदारतासाथ समाधान गर्यो भने नेपालको पनि समाधान नहुने कुरै छैन ।’ सहमति कार्यान्वयनका लागि नेपाल र भारतका प्रधानमन्त्रीहरुबीच तीन–तीन महिनामा १०–१० मिनेटको भिडियो कन्फरेन्स गर्नुपर्नेमा उनले जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot