Logo

शैक्षिक सुधारमा कालीकोटका स्थानीय तह



–मिमबहादुर रावल

मान्म, २१ जेठ । कालीकोटका स्थानीय तह शैक्षिक सुधारका नयाँनयाँ विधि प्रयोग गर्न थालेका छन् । नौ वटा स्थानीय तहमध्ये प्रायःस्थानीयले नयाँनयाँ विधिको प्रयोग गरेर शैक्षिक सुधारका काम गर्न थालेका हुन् ।

कालीकोटका नौ वटा स्थानीय तहमध्ये महावै गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने नियम बनाएको छ भने नरहरिनाथ गाउँपालिकाले पुराना विद्यालय नपढाउने राजनीति मात्रै गर्ने करार शिक्षकहरुलाई हटाएर नयाँ शिक्षक राखेको छ । महावै गाउँपालिका र पचाझरना गाउँपालिकाले कक्षा एकदेखि आठ कक्षासम्म स्थानीय पाठ्यक्रम बनाएर पढाउन थालेको छ ।

त्यस्तै रास्कोट नगरपालिकाले विद्यालय भर्ना अभियानलाई तीव्रता दिएर शतप्रतिशत बालवालिकालाई विद्यालयमा पढ्ने वातावरण मिलाउने अभियान थालेको छ । जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना अभियान शिक्षामै प्रथामिकता राखेर महावै गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक, कर्मचारीका छोराछोरी तथा आफन्तलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ ।

निर्णयको कार्यान्वयन गर्न गाउँपालिकाले अध्यक्ष खेमबहादुर सिंहले आफ्ना सुर्खेत वीरेन्द्रनगर बोडिङमा अध्ययन गर्ने आफ्ना छोराछोरी तथा आफन्तलाई सामुदायिक विद्यालयमा भर्ना गराएका छन्। अध्यक्ष सिंहले गाउँकै तिला नमुना माध्यमिक विद्यालयमा छोरालाई ४ कक्षा र छोरीलाई ७ कक्षामा भर्ना गराएका हुन् ।

अध्यक्ष सिंहले भने, “शिक्षामा सुधार गर्ने जिम्मेवारी हाम्रो हो । अब पालिकामा रहेका सम्पूर्ण सरकारी कर्मचारी, जनप्रतिनिधिलगायतले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गर्नुपर्छ ।” अहिलेसम्म १० जना जनप्रतिनिधि र ५१ जना कर्मचारीका अभिभावकले सामुदायिक विद्यालयमा भर्ना गरेको शिक्षा शाखाले जनाएको छ ।

महावै गाउँपालिकाले यो वर्ष शिक्षामा मात्र कूल बजेटको ३५ प्रतिशत वजेट विनियोजन गरेको छ । पालिकाले अभिभावक शिक्षा, विपन्न छात्रवृति अक्षयकोष, उच्च शिक्षा डाक्टर पढाउन बजेटसहित उत्कृष्ट विद्यार्थी पुरस्कार र अपुग दरबन्दी रहेका विद्यालयमा करार शिक्षक नियुक्ति गरेर शैक्षिक सुधार अभियानमा जुटेको हो ।

खाँडाचक्र नगरपालिकाले १० वर्षे शिक्षा योजना निर्णय गरेको छ । विद्यालय शिक्षा क्षेत्र योजना अन्तर्गत खाँडाचक्र नगरपालिकाको १० वर्षे शिक्षा योजना २०७८/७९ र २०८७/८८ खाँडाचक्र नगरपालिकाको दीर्घकालीन रणनीति बनाउने भएको हो । विद्यालय बाहिर रहेका किशोर किशोरीका लागि शिक्षा र जीवनोपयोगी सीपमा जोड दिइएको  नगरपालिकाका शिक्षा शाखा प्रमुख बलिराज शाहीले बताए । “शिक्षण सिकाइ र विद्यालय बाहिर रहेका विद्यार्थी तथा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिन १० वर्षे शिक्षा रणनीति बनाउन लागिएको छ”, उनले भने ।

गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष, प्रतिस्पर्धी, श्रम र उत्पादनप्रति जिम्मेवार जनशक्ति विकास गर्ने लक्ष्य रहेको नगरपालिकाका प्रमुख कमलराज शाहीले बताए । उनले भने, ‘‘हामीले दुर्गम पहाडी जिल्ला रहेको कालीकोटलाई शिक्षाको ‘हब’का रुपमा विकास गर्न रणनीतिक योजना बनाएका हौँ ।’’

त्यस्तै, तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले विद्यालयमा पठनपाठन कस्तो छ भनेर कक्षा कोठामा गएर बालबालिकाको गुनासो सुन्ने अभियान चलाएका छन्। प्रमुख शाहीले विद्यालयमा खाजा तथा छात्रवृत्ति रकम बिद्यार्थीले पाए नपाएको गुनासो सुन्ने अभियान नै चलाएका हुन् ।

जिल्लाका नौ स्थानीय तहमध्ये दुई गाउँपालिकाले आफ्नै पाठ्यक्रम सञ्चालनमा ल्याएका छन् । जिल्लाका महावै गाउँपालिका र पचाल झरना गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाएर पाठ्यपुस्तक तयार गरेका हुन् ।

महावै गाउँपालिकाले ‘हाम्रो महावै’ र ‘हाम्रो गौरव’ तथा पचाल झरना गाउँपालिकाले ‘हाम्रो पचाल झरना’ पाठ्यपुस्तक बनाएको हो । दुवै गाउँपालिकाले शैक्षिक सत्र २०८० देखि पालिकाभरका सबै विद्यालयमा पाठ्यक्रम लागू गरेका छन् । पचाल झरना गाउँपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरेको छ । स्थानीय तहलाई शिक्षा ऐनले दिएको अधिकारलाई प्रयोग गर्दै विद्यालयलाई पठनपाठनका लागि हस्तान्तरण गरिएको पचाल झरना गाउँपालिका गाउँ शिक्षा शाखा प्रमुख नमराज शाहीले बताए ।

महावै गाउँपालिकाले आफ्नै पाठ्यक्रम तयार पारेर विद्यालयमा पढाउन थालेको छ । कक्षा १ देखि ८ सम्मका विद्यार्थीले अनिवार्य अध्ययन गर्नुपर्ने गरी पाठ्यक्रम र पाठ्यपुुस्तक निर्माण गरेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए । उनका अनुसार जिल्लाको स्थानीय पाठ्यक्रम तयार पारी लागू गर्ने महावै गाउँपालिका पहिलो भएको छ ।

जिल्लाको तिलागुफा नगरपालिका, नहरिनाथ गाउँपालिका र शुभकालिका गाउँपालिकामा फरक क्षमता भएका बालबालिकालाई घरमा नै शिक्षा दिन थालिएको छ । तिलागुफा नगरपालिका, नरहरिनाथ गाउँपालिका र शुभकालिका गाउँपालिकामा फरक क्षमता भएका बालबालिकालाई सहयात्रा परियोजनाले घरमै पढाउने व्यवस्था मिलाएको हो ।

विद्यालय जान नसक्ने बालबालिकालाई घरमै शिक्षक पठाएर पढाउन थालिएको परियोजनाले जनाएको छ । परियोजनाले दैनिक ५ घण्टा पढाउने शिक्षकलाई मासिक रु. छ हजार पारिश्रमिकसहित बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग गरिरहेको छ । घरमै शिक्षक आएर पढाउन थालेपछि सजिलो भएको तिलागुफा नगरपालिका–८ का १७ वर्षीया शङ्कर न्यौपानेले सामान्य अक्षर चिन्न, पढ्न र लेख्न थालेको उनकी आमा शान्ता न्यौपानेले बताए ।

दृष्टिसम्बन्धी अपाङ्गता भएकी शुभकालिका गाउँपालिका–५ का सुकाटियाकी १० वर्षीया राधिका खत्रीले पनि घरमै कक्षा लिइरहेका छन् । पालिकालाई आधारभूत तथा अनिवार्य शिक्षा सुनिश्चित भएको स्थानीय तह घोषणा गर्न ‘घरमै विद्यालय’ अवधारणा प्रभावकारी देखिएको शुभकालिका गाउँपालिका अध्यक्ष गोन्दि आचार्यले बताए । ‘विद्यालय बाहिर अपाङ्गता भएका बालबालिका मात्र छन् । घरमै विद्यालय सञ्चालन गर्दा सबैलाई समेट्न सकिएको छ’,’ उनले भने । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार कालीकोटमा दुई प्रतिशत बालबालिका फरक क्षमताका रहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्