Logo

रामजी राम अब दर्तावाल डाक्टर !



काठमाडौं, जेठ २२। रौतहट गढिमाई नगरपालिका–९ का रामजी रामको विद्यालयमा अध्ययन गर्दा ठुलो सपना थिएन । भारतको पन्जाबमा गएर धान या उखु काट्ने काम गर्ने र आमाबुबालाई राम्रोसँग पाल्ने मात्र उनको लक्ष्य थियो ।

समाजका सबै मानिस जागिरका लागि पन्जाब जान्थे, धान काट्थे र पैसा कमाएर ल्याउँथे । त्यसैले उनले त्यसभन्दा माथि सोच्नुभएन । तर रामजी रामको जिन्दगीले अहिले अर्कै मोड लिएको छ । धान काटेर आमाबाबु पाल्ने सपनाभन्दा ठुलो क्षितिजमा उनी पुगेका थिए ।

रामजीले देख्दै नदेखेको सपना चिकित्सक भएर बिरामीको उपचार गर्ने सपना भने पूरा भएको छ । अब रामजी रामले सरकारले पठाएको ठाउँमा गएर बिरामीको उपचार गर्नुपर्ने छ । उनले मेडिकल काउन्सिलले लिएको एमबिबिएस लाइसेन्स परीक्षा उत्तीर्ण गरी रजिस्टर्ड डाक्टर बनेका छन् । उनी चमार समुदायका पहिला डाक्टर बनेका हुन् ।

उनको यो यात्रा सहज थिएन । वरपरका मानिस विद्यालयमा जाँदैन थिए । उनीहरूको उद्देश्य नै पन्जाब जाने, धान या उखु काट्ने र पैसा कमाउने मात्र हुन्थ्यो । यति मात्र होइन, रामजी राम विद्यालय जाँदा पनि उनका बुबालाई छोरालाई किन विद्यालय पठाएको भन्थे । बरु राम्रोसँग धान काट्न सिकाउनु, पन्जाब गएर कमाउने सपना पूरा गर्दछ भनेर प्रेरित गर्थे ।

बुबाले ‘पढाइ छोड्छस् त बाबु ?’ भन्दा ‘होइन बा पढ्न मन छ, पढ्छु’ भनेर जवाफ दिएको रामजीलाई अझै याद छ । प्राथमिक तहसम्म त गाउँमै विद्यालय भएकाले रामजीलाई अध्ययन गर्न सजिलो भयो । प्राथमिक तह अध्ययन सकेपछि गाउँबाट टाढा जानुपर्ने थियो ।

चमारको छोरा भनेर डेरा पाउनै मुस्किल हुन्थ्यो । पछि विद्यालयका शिक्षकले विद्यालयमा एउटा कोठाको व्यवस्था गरिदिए । रामजीको उच्च माध्यमिक अध्ययन रौतहटकै श्री उच्च मावि गरुडाबाट विज्ञान विषयमा भयो । विद्यालयमा पहिलो भएपछि पैसा तिर्नु पर्दैनथ्यो भनेको सुनेर मेहनत गर्ने र सधैँ प्रथम भएको रामजीले सुनाए ।

उच्च माध्यमिक सकेपछि रामजीको भविष्य अन्योल थियो । बाआमाले भिनाजुसँग प्रेसर कुकर बनाउनलाई काठमाडौँ पठाए । भिनाजु त्यो बेला पनौती, बनेपामा प्रेसरकुकर बनाउँदै हिँड्नु हिड्थे। उनले पनि भिनाजुसँग प्रेसरकुुकर बनाउन सिके ।

एक महिना प्रेसरकुकर बनाउन सिकेपछि कलेजबाट एक जना सरले फोन गरेर अध्ययनबारे सोधे र भने, “तिम्रो पढाइ राम्रो छ, त्यसरी कुकर बनाउने काममा नहिँड ।” सरको सल्लाहले इन्जिनियरिङ तयारी गर्दागर्दै विज्ञान पढाउने सरले बागबजार गएर एमबिबिएसको तयारी गर्न भनेपछि रामजी बागबजारमा गएर एमबिबिएस प्रवेश परीक्षाको तयारी गर्न थाले।

त्यसबेला उनी टेकुमा सुकुम्बासी बस्तीमा जोगीसँग बसेर उनीहरूको खाना पकाएर सहयोग गर्थे। अहिले पनि कहिलेकाहीँ सुकुम्बासी बस्तीमा गएर बस्छन्।

रामजीले १० कक्षादेखि ट्युसन पढाउन थालेका थिए। त्यसबाहेक कोही कोहीले ५० रुपियाँ दिन्थे । सुकुम्बासी बस्तीका बालबालिकालाई पनि ट्युसन पढाए। मासिक एक हजार जति हुन्थ्यो । धान काटेर बाबुआमा पाल्ने सपना देखेको रामजी अहिले डा रामजी राम बनका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्