Logo

मुर्रा राँगाले ततायो संसद्: ओलीले मगाए, प्रचण्डलाई दोष



काठमाडौं, २२ जेठ । प्रतिनिधि सभा बैठकमा आज (सोमबार) भारतले सहयोगमार्फत दिने भनिएको मुर्रा राँगाको विषय खुबै चर्चामा रह्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएपछि राँगाको विषयमा सामाजिक सञ्जाल निकै तातेको छ । मुर्रा राँगाको विषयमा प्रधानमन्त्री प्रचण्डले संसद्मा स्पष्टीकरण दिनपर्ने अवस्था नै आयो । राँगा ल्याउने सम्झौता अहिले नभएर सात वर्ष पहिलेकै सरकारले गरेको प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारे ।

‘भैसीको कुरा अहिले भएको विषय होइन । यो आजभन्दा सात वर्ष अगाडि नै मुर्रा भैसी ल्याउने बारे समझदारी भएको रहेछ । आएकोमात्रै अहिले हो । सात वर्ष अगाडिको रहेछ मुर्रा भैसी । मान्छेले मलाई चाहिँ भैसी चढाएर हिडेका छन् । मुर्रा हो, मुर्रा,’– प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले आफूमाथि संसदमा उठेका प्रश्नको जवाफ दिएलगत्तै बोलेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राँगा ल्याउने बारेमा आफ्नो पालामा पहल भएको स्वीकार गरे । नश्ल सुधारका लागि आफूहरुले भारत बाहेक अरु राष्ट्रहरुले पनि सहयोग गरोस् भन्ने चाहेको बताए ।

‘राँगा आयो । पहिले नै कुरा गरेको रहेछ । केपी ओलीको समयमा कुरा गरेको हो । नश्ल सुधारको कार्यक्रममा भारतले हामीलाई सहयोग गरोस् । गाई पालन, भैसी पालन, बाख्रा पालन अरु विभिन्न कुरामा सहयोग गरोस् । हामीले यस सम्बन्धमा अरुसँग पनि कुरा गरेका छौं । नश्ल सुधारका सम्बन्धमा । हामी उही च्याक्ले गाई, किर्ने भैसी भन्छन् नि त्यसैमा बसिरहने होइन । हामी नयाँ ढंगले अगाडि लान चाहन्छौं,’– ओलीले भने ।

यस विषयमा सामाजिक सञ्जालमा ट्रोल नै बनेपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पनि सूचना निकालेर प्रष्ट पारेको थियो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सन् २०१८ मा नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा भएको माग अनुसार विभिन्न समयमा औपचारिक आनौपचारिक रुपमा ३० वटा मुर्रा राँगा उपलब्ध गराउने समझदारी भएको उल्लेख छ । सोही अनुुसार सन् २०२० जुनमा नेपाल सरकारबाट भारतको मिनिष्ट्री आफ एनिमल हज्बेन्ड्रीलाई औपचारिक रुपमा राँगा उपलब्ध गराउन प्रस्ताव गरिएको समेत उक्त मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस्