Logo

आध्यात्मिक सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड खप्तड जाँदै



काठमाडौं, जेठ २३ गते । सुदूरपश्चिम प्रदेशको चर्चित धार्मिक, आध्यात्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा आजदेखि तीनदिने आध्यात्मिक सम्मेलन हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सो कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्वप्रधानमन्त्री, लोकप्रिय योगगुरु बाबा रामदेव र पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णलगायतको उपस्थिति हुने बताइएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा हुने यस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्रको समग्र विकास र भावी योजना तथा रणनीतिका बारेमा विशेष सम्बोधन गर्नु हुने जानकारी आयोजकले दिएको हो।

त्यस अवसरमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिने जनाइएको छ। डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाले घेरिएको खप्तड क्षेत्र धार्मिक तथा बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ।

बाबा रामदेवले योगाभ्यास गराउने कार्यक्रम रहेको उक्त सम्मेलनमा पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्ण र नेपालका योगगुरु लबदेव मिश्रले योगा गराउनेछन् । सो अवसरमा चतराधाममा बस्दै आएका महायोगी जगत्गुरुले शिद्धबाबा कृष्णदास महाराजले पनि प्रवचन दिने कार्यक्रम छ। प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्रीहरू सोमबार डोटी हुँदै खप्तड पुगिसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्