Logo

ब्यास नगरपालिकाको बेथिति : खाना, खाजा र विविध खर्चमा १ करोड ११ लाख खर्च



तनहुँ, जेठ २३ । तनहुँको सदरमुकाम रहेको ब्यास नगरपालिकामा चरम आर्थिक बेथिति रहेको पाइएको छ । व्यास नगरपालिकाले विभिन्न पक्षसँग मिलेमतो गरीआर्थिक वर्ष २०७८/७९ मा मात्रै विविध र खाना खाजामा १ करोड ११ लाख ४ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले व्यासमा भएको विविध र खाजावापतको सो खर्च अस्वाभाविक भएको र सरकारको आर्थिक मितव्ययिता नीतिविपरीत मनपरी खर्च गरेको ठहर गरेको छ ।

ब्यासमा दोस्रोपटक मेयर बनेका बैकुण्ठ न्यौपानेमाथि शहरलाई व्यवस्थित र सुन्दर बनाउन छोडेर विभिन्न आर्थिक बेथिति मच्चाएको आरोप लाग्दै आइरहेको छ ।

व्यास नगरपालिकाल विविध र खाजामा गरेको खर्च नेपाल सरकारले जारी गरेको सार्वजनिक खर्चमा मितव्ययिता कायमसम्बन्धी मापदण्ड–२०७७ को दफा ३ विपरीत रहेको महालेखाले स्पष्ट पारेको छ । जसअनुसार सार्वजनिक निकाय तथा सार्वजनिक पदधारण गरेको व्यक्तिले सरकारी कामको सिलसिलामा खर्च गर्दा कार्यालय सामान, मसलन्द , पानी, बिजुली, इन्धन तथा विविध खर्चलगायतका शीर्षकमामितव्ययिता कायम हुनेगरी खर्च गर्नुपर्ने व्यवस्था छ। तर, व्यास नगरपालिकाका मेयर न्यौपानेले सो प्रावधानलाई बेवास्ता गर्दै विविध र खाजा खर्चमा त्यति धेरै रकम सकाउनुका साथै निवासमा बस्दा पाइने विभिन्न सुविधामा अत्यधिक खर्च गर्ने गरेको जनाइएको छ ।

विविधि शीर्षकमा केमा कति खर्च भयो भन्ने बारेमा नगरपालिकाले केही खुलाएको छैन । महालेखाले विविध र खाजा खर्चमा अस्वाभाविक खर्च भएको भन्दै व्यास नगरपालिकाप्रति आपत्ति जनाएको छ । महालेखाको सो आपत्तिसँगै खाजा र विविध शीर्षकमा भएको १ करोड ११ लाख रुपैयाँ खर्चको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक छानबिन गर्नुपर्ने माग स्थानीय स्तरमा उठ्न थालेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot