Logo

श्रमिकका सबै समस्यासँग अभ्यस्त छु, छिट्टै समाधान गर्ने प्रयास गर्छु : श्रममन्त्री भण्डारी



काठमाडौं, २४ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर ओमानमा यही जून २८ देखि ३० तारिखसम्म हुने मध्य पूर्वी क्षेत्रीय सम्मेलनका लागि आमन्त्रण गरेको छ ।

भेटका क्रममा उपाध्यक्ष, आर के शर्माले मध्यपूर्वका केही देशमा महिला श्रमिकलाई पुनःश्रम स्वीकृतिमा लगाइएको रोक अन्त्य गर्नुका साथै र इराक लगायतका मुलुकमा रोजगारीका लागि जान लगाइएको निषेधलाई पुनरावलोकन गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराए ।

श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकार र एनआरएनको सहकार्य अहम् हुने भन्दै ओमानमा हुने सम्मेलनबाट यसको बृहत् सुरुवात गरिने जानकारी गराए । यस्तै समाजिक सुरक्षा कोषमा कम्तिमा पनि २ प्रतिशत लाभांशको व्यवस्था सरकारको तर्फबाट गर्नसके कोषप्रति श्रमिकको आकर्षण बढ्ने उनको भनाई थियो । सो अवसरमा संस्थापक डा. उपेन्द्र महतोले लाखौँ श्रमिकको रेमिट्यान्सलाई बैँकिङ् च्यानलबाट ल्याउनसके मुलुकको राजस्वमा ठूलो टेवा पुग्ने धारणा राखे ।

एनआरएनएका प्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले आफू श्रमिकका सबै समस्यासँग अभ्यस्त रहेको र यही कार्यकालमा ती समस्या सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाए । श्रमिकका समस्यासँग साक्षात्कार हुँदाहुँदै पनि विविध कारण समाधानमुखी योजना ल्याउन नसकेको स्वीकार्दै उनले एनआरएनसँगको सहकार्यमा विदेशमा रहेका श्रमिकको हक अधिकार सुनिश्चित गर्न र सुरक्षित तथा मर्यादित रोजगारीका लागि प्रोत्सहित गर्न सरकारले काम सुरु गरिसकेको उनको भनाई थियो । त्यसका लागि गन्तव्य मुलुकका राजदूतसँग पनि आफूले छलफल जारी राखेको मन्त्री भण्डारीको भनाई थियो ।

नेपालीहरु जहाँ जसरी पुगेपनि उनीलाई ‘देश छ र सरकारले गर्छ’ भन्ने महसुस गराउने गरी रणनीतिक पहल सुरु गरेको उनको भनाई थियो । विदेशमा रहेका श्रमिक, उनीहरुको अवस्था र उनीहरुलाई परेका समस्या पहिचान गर्न र सुरक्षित रोजगारका लागि प्रोत्सहित गर्न एकत्रित रुपमा डिजिटल रोजगार केन्द्रको अवधारणा ल्याई काम सुरु गर्न लागेको उनले बताए । मध्यपूर्वका महिला श्रमिकको समस्या विविध कारण यसअघि रोक लगाइएका श्रम गन्तव्य मुलुकका सम्बन्धमा सरकारले छिट्टै पुनरावलोकन गर्ने मन्त्री भण्डारीले प्रतिबद्धता जनाए ।

भेटका क्रममा संस्थापक अध्यक्ष महतोसहित, उपाध्यक्ष शर्मा, संघका सचिव गोविन्द प्रसाद गौतम, गैरआवासीय नेपाली संघ कम्बोडियाका अध्यक्ष लाल सिंह, सरोज दाहाल र प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्