Logo

माओवादी पार्टीभित्र गुटैगुट छन् : शर्मा



काठमाडौं, २५ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता रामकुमार शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण ऐतिहासिक रुपमा सफल भएको टिप्पणी गरेका छन् । प्रचण्डको भ्रमण दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुर् याउन सफल भएकाले आम जनता खुसी भएको उनको दाबी छ ।
‘यो हिस्टोरिकल ब्रेक थ्रु हो । दुई देशबीच मित्रता र विश्वास बढेको छ । त्यसैले प्रचण्डलाई सारा नेपाली जनताले धन्यवाद दिएका छन् । सरकारका हरेक कदमलाई विपक्षीले नराम्रो मात्रै भन्ने राजनीतिक संस्कृति छ । तर प्रचण्डले राष्ट्रघात गर्नुभयो भन्न कसैले सकेको छैन । यो नै भ्रमणको सबैभन्दा ठूलो सफलता हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै शर्माले भने ।
विपक्षीले एकोहोरो विरोध मात्र गर्दा मुलुकलाई नै कमजोर बनाउने पनि उनले बताए । शर्माले थपे, ‘प्रचण्ड पार्टीको प्रतिनिधित्व गरेर भारतयात्रामा जानुभएको होइन, देशको प्रधानमन्त्री भएर जानुभएको हो । विगतमा प्रधानमन्त्रीहरु भारत भ्रमणमा जाँदा जस्तो देशको हित विपरीत काम गरेको कहीं कतैबाट आएको छैन । सातबुँदे सम्झौता धेरै महत्त्वपूर्ण छ । नेपाली जनताले यसको परिणाम केही समयमै पाउने छन् ।’ नेपाल कृषिबाट आत्मनिर्भर हुने र जलविद्युतबाट धनी हुने दिशामा पुगेको पनि उनले बताए ।
उनले नागरिकता विधेयकलाई राजनीति गर्ने माध्यम बनाउनु दुर्भाग्य भएको पनि औंल्याए । शर्माले पार्टीभित्र गुटगुट भएको र सरकारले गरेका राम्रा काम जनतामा लान नसकिएको बताए । पर्यटन मन्त्री सुदन किरातीको अभिव्यक्ति प्रधानमन्त्री प्रचण्डविरुद्ध नभएको दाबी पनि उनले गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot