काठमाडौं, जेठ २५ । एमालेका आन्तरिक बैठकमा पार्टीभित्र व्यक्तिवाद र अवसरवाद मौलाएको निष्कर्ष निकालिएको छ। ‘मिसन ग्रास रुट’ अभियानको पहिलो चरण सकिएपछि बसेको केन्द्रीय कमिटीको बैठक र त्यसपछिका बैठकले यस्तो निष्कर्ष निकालेका हुन्। पार्टीभित्र दक्षिणपन्थी अवसरवाद, संकीर्णतावाद, व्यक्तिवाद र अवसरवादविरुद्धको संघर्ष आवश्यक मात्रामा सशक्त बन्न नसक्दा व्यक्तिवाद र अवसरवाद मौलाएको निष्कर्ष निकालिएको हो।
एमालेले यही जेठ २३ गते गरेको आन्तरिक सर्कलुर (अन्तरपार्टी निर्देशन) मा पार्टीभित्रका चुनौती, समस्या र कमीकमजोरी औंल्याइएको छ। पार्टीका सबै नेता र कार्यकर्तालाई पठाइएको अन्तरपार्टी निर्देशन (अपानि) मा विचारधारात्मक काममा कमी देखिएको, कतिपय नेता÷कार्यकर्तामा पार्टीका विचार र सिद्धान्तमा चासो कम रहेकोसमेत उल्लेख छ।
पार्टी आन्तरिक जीवनको मुख्य चुनौतीका रूपमा अस्वस्थ प्रतिस्पर्धा, प्राप्त जिम्मेवारी बहन नगर्ने, दोहोरोरतेहेरो जिम्मेवारी लिने प्रवृत्ति रहेको एमाले नेतृत्वको ठहर छ। युवालाई पार्टीमा संगठित गर्ने, परिचालित गर्ने र जिम्मेवारी दिने विषयलाई अब मुख्य कार्यभार बनाउनुपर्ने निष्कर्ष एमालेको छ।
पार्टी प्रशिक्षणहरू यथोचित नभएको, पार्टीपंक्तिमा संगठनात्मक अराजकता बढेको, समाजवादको आधार निर्माण गर्ने पार्टीको राजनीतिक कार्यदिशासँग जनप्रतिनिधिको भूमिकालाई जोड्न नसकिएको, जसका कारण विगतमा पार्टीले जितेका पालिकाहरूमा पछिल्लोपटक पराजय बेहोर्नुपरेको, उम्मेदवारी छनोटका आधारबारे कार्यकर्तामा प्रस्टता नभएको, निर्वाचनमा पार्टीकै बागी उम्मेदवार बन्ने र घात–अन्तर्घात गर्ने समस्या देखापरेको, आफू उम्मेदवार भए पार्टीको र अरू भए नातावाद र कृपावादले टिकट पाएको जस्ता आरोप लगाउने प्रवृत्ति र व्यक्तिवादी–अहंकारी सोच देखापरेको अपानिमा उल्लेख छ।
त्यस्तै नयाँ सदस्यता वितरण, नवीकरण, लेबी संकलन, भेला प्रशिक्षणजस्ता काममा शिथिलता आएको, सदस्यताको महत्व बुझ्नेरबुझाउने कुरामा कमी आएको, पार्टी सदस्यताका लागि फाराम भरेको लामो समयसम्म पनि प्रक्रिया पुरा नहुने र सदस्यता कार्ड प्राप्त नहुनेजस्ता कारणले नयाँ प्रवेशीमा उत्साह नदेखिएको, व्यवस्थित अभिलेख नराखिएको विषयलाई पार्टीका कमजोरीका रूपमा सर्कुलरमा औंल्याइएको छ। नागरिक दैनिकबाट