Logo

क्षणिक वाहवाहीका निम्ति ७० वर्षे उमेर हद राख्यौं : एमाले नेता



काठमाडौं, २५ जेठ । प्रतिनिधिसभामा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सरकारलाई निर्ममतापूर्वक खबरदारी गर्नु प्रतिपक्षको दायित्व भएको बताएका छन् ।
‘संसद् भनेकै जनप्रतिनिधिमूलक थलो हो । यहाँ जनताका मुद्दा विभिन्न ढंगले छलफलमा आउँछन् । त्यसैले वाद-प्रतिवाद, सवाल-जवाफ हुनु स्वाभाविक हो । अहिले सरकारले ल्याएको बजेट सामान्य अवस्थाको निरन्तरताका रुपमा आएकाले यसले निकास दिँदैन भनेर हामीले सरकारलाई निमर्मतापूर्वक खबरदारी गरिरहेका छौं । तर प्रतिपक्ष हुँदैमा सरकारको सदैव विरोध नै गर्नुपर्छ भन्ने छैन । हामीले राम्रोलाई राम्रो भन्न सकेनौं भने सरकारले पनि बाटो बिराउँछ नि,] नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै गिरीले भने ।
पार्टीले ७० वर्षे हदबन्दी हटाउनु उचित भएको पनि उनले बताए । गिरीले भने, ]अमेरिकामा ८० वर्षे पाका राष्ट्रपति छन् । भारतमा पनि पाका व्यक्ति नै प्रधानमन्त्री छन् । राजनीतिमा उमेरभन्दा पनि भिजन महत्त्वपूर्ण हो । त्यतिबेला हामी अलि इमोसनल भयौं । वाहवाही खान ७० वर्ष उमेर हद राख्यौं । त्यतिबेलै सोच्नुपर्थ्र्यो । आजको सन्दर्भमा यति वर्षपछि राजनीतिमा उमेरहद लगाउनु उचित होइन । कहिले राख्दा र कहिले हटाउँदा कमजोरी देखियो । आलोचना गर्ने ठाउँ भयो ।’
नेता गिरीले पार्टी नेता वामदेव गौतम एमालेमा फर्कनु स्वागतयोग्य कदम हुने बताए । उनले भने, ‘वामदेव गौतम आदरणीय नेता हो । राजनीतिक परिवर्तनका लागि उहाँको योगदान छ । तर उहाँमा समय-समयमा विचलन आयो । विचार र व्यवहारमा तालमेल भएन । समय समयमा उत्तेजना पनि आउनुभो । तर उहाँ एमालेमै फर्कनु स्वागतयोग्य नै हो ।’
केपी शर्मा ओलीलाई तेस्रो पटक एमालेको अध्यक्ष बनाउन लाग्नुभएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा गिरीले भने, ‘केपी शर्मा ओली जत्तिको दूरदृष्टि भएको नेता समकालीन राजनीतिमै छैनन् । त्यसैले उहाँ नेपाली राजनीतिको मियो भएर बस्नुभएको छ । तर अनेक हत्कण्डा अपनाएर सत्तामा बस्नुपर्छ भन्ने छैन । नेतृत्वले आन्दोलनलाई मझधारमा लगेर छाड्न पाइँदैन । नेतृत्व भनेको प्रतिस्पर्धा र पहल कदमीबाट लिने हो । नेतृत्वको छनोट आवश्यकताका आधारमा हुने हो । त्यसबारे अहिले नै चर्चा गरिरहनु आवश्यक छैन ।’ अर्को प्रसंगमा उनले कोसी प्रदेशमा ताजा जनादेशमा जाने परिस्थिति निर्माण भएको बताए ।



प्रतिक्रिया दिनुहोस्