काठमाडौं, जेठ २६ । जनताको प्रतिनिधित्व गर्ने ठाउँ भएकाले संसद्मा जनप्रतिनिधिबाट बोलिने कुरा सभ्य र तार्किक हुनु पर्छ भन्ने मान्यता छ। संसद्मा बोलिने कुराको रेकर्ड हुने हुँदा कुनै पनि जनप्रतिनिधिले निकै मेहनत गरेर बोल्नुपर्ने हुन्छ। पछि इतिहास पल्टाएर हेर्दा आफैले बोलेको कुराले आफैंलाई पश्चाताप नहोस्।
कुनै पनि विषयको ज्ञान नभई संसद्मा बोल्दा त्यसले पदको गरिमालाई समेत हानि गर्ने हुँदा यसबारे सांसदले ध्यान दिनुपर्ने भए पनि कहिलेकाहीँ व्यंग्यात्मक शब्द र उखान टुक्काले बेला बेलामा संसदमा विवाद हुने गरेको छ। कतिपय अवस्थामा सांसदले बोलेको शब्द सभामुखले रेकर्डबाट समेत हटाउन निर्देशन दिनुपर्ने अवस्था छ। तर कहिलेकाहीँ भने असंसदीय शब्द पनि रेकर्डबाट हटाइएको छैन। सभामुखले आफैंले रेकर्डबाट हटाउन सक्ने अधिकार छ भने सांसदले उठाएमा पनि रेकर्डबाट हटाउने गरिन्छ।
संसद्मा विगतमा प्रयोग भएको चीरहरण भन्ने शब्द, तरुनी भन्ने शब्द, डार्लिङ भन्ने शब्द रेकर्डबाट हटाइएको छैन। तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्ले सांसदले बोलेका असंसदीय शब्दलाई सांसदले प्रश्न नउठाए पनि असंसदीय भन्दै आफैंले रेकर्डबाट हटाउन निर्देशन दिने गर्थे।
तत्कालीन माओवादी सभासद गोपाल किरातीले संविधानसभाको बैठकमा संविधानसभाबाट संविधान बनाउन नदिएमा उनीहरूलाई खरानी बनाएर खरानीमाथि संविधान जारी गर्ने अभिव्यक्ति दिएका थिए। त्यसलाई तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङले यो शब्द असंसदीय भन्दै तुरुन्त रेकर्डबाट हटाउन निर्देशन दिएका थिए।
बिहीबारको प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफल भइरहँदा कांग्रेसका सांसद विनोद चौधरीले व्यक्त गरेको ‘जप प¥र्यो राति तब बुढी ताती’ भन्ने उखान प्रयोग गरेपछि जसपाकी रेखा यादवले असंसदीय शब्द संसदीय रेकर्डबाट हटाउन माग गरिन्। उनले यो उखानले महिलामाथि आक्रमण गेको भन्दै अब आइन्दा महिलामाथि हिंसा हुने परम्परागत उखान संसद्मा प्रयोग नहोस् भन्ने आग्रह गरिन्।
त्यसपछि सभामुख देवराज घिमिरेले यो भनाइ रेकर्डबाट हटाउन निर्देशन दिए। नेपालमा किसानले समयमै मल पाउन नसकेको भन्दै सांसद चौधरीले धान रोपाईं गर्ने बेलामा सरकारले मल ल्याउने तत्परता देखाउने गरेको बताउन ‘जब प¥यो राति तब बुढी ताती’ भन्ने उखान सुनाएका थिए।
उपसभामुख इन्दिरा रानाले अध्यक्षता गरेका बेला प्रतिनिधिसभाको बिहीबारकै बैठकमा ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्दावली संसद्को अभिलेखबाट हटाउन निर्देशन दिनु परेको छ। बजेटमाथिको छलफलका क्रममा कांग्रेस सांसद डिल्लीराज पन्तले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने उखान प्रयोग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने वाक्यले दृष्टिविहीन समुदायलाई चोट पुगेको भन्दै संसदको अभिलेखबाट हटाउन माग गरेका थिए।
सांसद ढकालको नियमापत्तिपछि उपसभामुख रानाले सो उखान संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएकी हुन्। गत जेठ २२ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्किदा प्लेन चढेर आफैंले उद्घाटन गरेको पोखरा विमानस्थल आउनुहुन्छ होला भन्ने सोचेको दुर्भाग्यवश भैंसी चढेर आउनुपरेको कुराहरू आए’ भनेका थिए। सो कुरा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले असंसदीय भन्दै रेकर्डबाट हटाउन माग गरेपछि रेकर्डबाट हटाइएको थियो। नागरिक दैनिकबाट