काठमाडौं, २६ जेठ । जनता समाजवादी पार्टीका प्रवक्ता मनिषकुमार सुमनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कार्यशैलीको आलोचना गरेका छन् । उनले महानगरको कार्यालयमा ‘ग्रेटर नेपाल’को नक्सा राखेर मेयर बालेन शाहले मूर्खता देखाएको आरोप लगाए ।
आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको चर्चित कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले महानगरको कार्यालयमा ग्रेटर नेपालको नक्सा राखिनु मेयर बालेनको मूर्खता भएको टिप्पणी गरेका हुन् । उनले भने, ‘यो बालेनजीको मूर्खता हो । उहाँले टिट फर ट्याट जस्तो गरी केटौले व्यवहार गर्नुभएको छ । यो कसैलाई जिस्काउने धृष्टता हुन्छ । यो उहाँको बालापन हो । ऐतिहासिक कुरा इतिहासमा राख्ने कुरा हो । भारतले पनि महाभारतकालको नक्सा राखेको हो । यो बालेनको उमेरदोष हो । कसैले गर् यो भन्दैमा नक्सा बनाएर पर्खालमा टाँसिहाल्नु जरुरी छैन । पद र ओहदामा रहेको जिम्मेवार व्यक्तिलाई सुहाउँदैन । बालेन र हर्क साम्पाङजति अनुशासनहीन जनप्रतिनिधि मैले देखेको छैन । यो अजिब हर्कत हो । उट्पट्याङ हो ।’
सुमनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण समग्रमा सफल भएको दाबी गरे । पूर्वतयारीको अभावमा हवाई रुटबारे भने सम्झौता हुन नसकेको उनको जिकिर छ । सीमा विवाद समाधानमा बंगलादेश मोडलबारे प्रधानमन्त्रीले पूर्वतयारी बिना बोलेको सुमनको टिप्पणी छ । उनले भने, ‘प्रचण्डले अचम्मको कुरा गर्नुभयो । जब कि यसबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वा र भारतीय पक्षले उठान गरेको थाहा छैन । हाम्रो प्रधानमन्त्रीको मनमा एकल रुपमा कसरी यस्तो विचार आयो रु यो नेपालको विचार होइन । भारतको पनि त्यस्तो विचार होइन । विषय उठेको पनि छैन, जरुरी पनि छैन ।’
उनले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान हुने पनि दाबी गरे । सुमनले भने, ‘नेपाल र भारतबीच सीमाका सानातिना समस्या छन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नै ९८ प्रतिशत समाधान भयो भन्नुभएको छ । सीमाको समस्या साह्रै कम ठाउँमा मात्र छ । तर कथित राष्ट्रवादीहरुका कारण समय(समयमा संशय चाहिं भइरहन्छ । ‘चुच्चे नक्साका बारेमा भारतलाई विश्वस्त बनाउनु नेपालकै जिम्मेवारी भएको पनि सुमनले बताए ।
जसपा प्रवक्ता सुमनले जनमत पार्टीलाई विगतमा गठबन्धनको अनुशासनबारे समीक्षा गरी सरकारमा ल्याउँदा विमति नहुने पनि बताए । उनले भने, ‘यो माओवादी वा कांग्रेसको एकल सरकार होइन । तर सरकारको सुरक्षाका लागि केही दललाई निरन्तर जोडिरहनुपर्छ । जनमतका कारण विगतमा गठबन्धनको अनुशासनमा धक्का पुगेको थियो । त्यसलाई समीक्षा गर्ने हो भने जनमत पार्टी सरकारमा हुँदा हाम्रो विमति छैन । स्वागत छ । धन्यवाद छ ।’