काठमाडौं, जेठ २६ । नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन राजधानीमा आजबाट सुरू भएको छ । अर्पण बैंक्वेट बानेश्वरमा जारी अधिवेशनको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै उनले पैसामा लोभिने, जनतालाई पीडा दिने शोषक सामन्त जाली फटाहा पूँजीवादी बढेको र इमान्दार पिल्सिरहनुपर्ने अवस्था आएकाले त्यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताए । नेपालले संविधानमाथि आँच आउने कुनै पनि क्रियाकलाप भए त्यसका विरुद्ध कलम चलाउन अनुरोध गर्दै उनले कुनै आग्रह पूर्वाग्रह नराखी संविधानको रक्षा गर्ने गरी काम गर्न पत्रकारहरुलाई निर्देशन दिए ।
अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन हुनेछ । यस महाधिवेशनमा देशभरीका ६५ जिल्लाका ४ सय बढी प्रतिनिधिको सहभागिता हुने संगठनका अध्यक्ष शम्भु श्रेष्ठले बताए ।
उनीहरुलाई सुन्धारामा खान र बस्नेका लागि व्यवस्था गरिएको छ । यसअघि सचिवालय बैठकले २०८० वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गरिसकेका सदस्यलाई मात्र प्रथम अधिवेशनमा प्रतिनिधिका भाग लिन पाउने निर्णय गरेको थियो ।