Logo

मान्छेले संकल्प गरे सुर्तिजन्य पदार्थ र धुम्रपानको प्रयोग छाड्न सकिन्छ



काठमाडौं, २६ जेठ । नेपालमा नसर्ने रोगको प्रकोप तीव्र रूपमा विकास भइरहेको छ । यसको प्रमुख कारकको रूपमा धुम्रपान, मद्यपान र सूर्तिजन्य पदार्थलाई लिने गरिन्छ । सूर्तिजन्य पदार्थको प्रयोगबाट विश्वमा प्रतिमिनेट १९ जना मानिसको मृत्यु हुने गरेको तथ्याङ्कहरु सार्वजनिक छन् ।

यसै सन्दर्भमा आज (शुक्रबार) नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा रिपोर्टर्स क्लब नेपालले ‘धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट स्वास्थ्यमा हुने हानी तथा नोक्सानी, समस्या र नियन्त्रण’सम्बन्धी विज्ञहरुसँग अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा विषयविज्ञ र सरोकारवाला निकायहरुको सहभागित रहेको थियो । रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट स्वास्थ्यमा ठूलो हानी तथा नोक्सानी भएको भन्दै यसको उपभोगलाई रोक्नुपर्नेमा जोड दिएका छन् ।

क्लबका सभापति ऋषि धमलाले धुम्रपानले कसैलाई पनि फाइदा नगर्ने बताए । धुम्रपान, मद्यपान र सूर्तिजन्य पदार्थको प्रयोग छाड्नका लागि पनि धमलाले सबैलाई आग्रह गरे । धुम्रपानको असरका बारेमा धेर जना जानाकार हुँदाहुँदै पनि यसको प्रयोग घट्न नसकेको प्रति धमलाले चिन्ता व्यक्त गरे ।

‘धुम्रपान, मद्यपान र सूर्तिजन्य पदार्थको प्रयोगबाट कसैलाई पनि फाइदा छैन । हामी बारम्बार भन्छौं, खान हुन्न, पिउन हुन्न भनेर । तर, धुम्रपान, मध्यपान र सूर्ति सेवन गर्ने मान्छे घटेका छैनन्,’– उनले भने ।

आफूसँग भ्रष्टाचारको अन्त्य र देशको समृद्धिका लागि शिक्षा र स्वास्थ्यको संकल्प रहेको समेत धमलाले बताए । हरेक मान्छेले ‘धुम्रपान गर्दिन भनेर’ संकल्प गरेको खण्डमा त्यसलाई त्याग्न सकिने उनको भनाई छ । ‘मेरो दुई वटा एजेण्डा छन् । एउटा भ्रष्टाचारको अन्त्य र यो देशको समृद्धिका लागि स्वास्थ्य र शिक्षा । मान्छेले ‘म प्रयोग गर्दिन’ भनेर संकल्प गरेको खण्डमा धुम्रपान, मध्यपान र सुर्तिजन्य पदार्थको प्रयोग छाड्न सकिन्छ,’– उनले भने ।

यस्तै, क्यान्सर रोग विशेषज्ञ एवं जनस्वास्थ्यविद किशोर प्रधानाङ्गले सूर्तिजन्य पदार्थको प्रयोगबाट विश्वमा प्रत्येक वर्ष ९६ लाख मानिसहरुको मृत्यु हुने गरेको बताए । सूर्तिजन्य पदार्थको प्रयोगबाट विशेषगरी क्यान्सर, मुटुको रोग, फोक्सोसम्बन्धी रोग लाग्ने उनले बताए ।

‘सूर्तिजन्य पदार्थको प्रयोगबाट प्रत्येक वर्ष ९६ लाख मानिसहरुको मृत्यु हुने गर्दछ । प्रतिमहिना आठ लाख र प्रतिदिन २७ हजार, प्रतिघण्टा एक हजार दुई सय २५ जना र प्रतिमिनेट १९ जना मानिसको मृत्य हुने गर्दछ,’– उनले भने ।

साथै, कतिपय मानिसहरु अप्रत्यक्ष धुम्रपानकोसमेत सिकार भइरहेको उनको भनाई छ । सन् २०२० को तथ्याङकअनुसार विश्वको कूल जनसंख्यामध्ये २२.३ प्रतिशतले सूर्तिजन्य पदार्थको प्रयोग गर्ने उनले बताए ।

विश्वभरी एक अर्व ३० करोड मानिसले धुम्रपान गर्ने उनले बताए । यो तथ्याङ्कले विश्वमा सूर्ति सेवनको अवस्था भयावह रहेको पुष्टि गर्ने उनको भनाई छ । पानपराग, पान मसला, सूर्ति, खैनीको प्रयाग छाड्न सकिने र यसको लागि सबैभन्दा पहिला व्यक्तिमा प्रतिबद्धता आवश्यक पर्ने उनको भनाई छ ।

सूर्तिजन्य पदार्थमा चार हजार प्रकारका केमिकल हुने र यो नै नसर्ने रोगको मुख्य कारक रहेको उनले बताए । विश्वमा प्रतिदिन एक लाख १३ हजार मान्छे नसर्ने रोगबाट मर्ने र नेपालमा नसर्ने रोगबाट प्रतिवर्ष एक लाख २७ जना मान्छे मर्ने गरेको उनले बताए । सूर्तिजन्य पदार्थको प्रयोगमा रोकथाम गर्न सके यो भयावह अवस्थाबाट मुक्ति पाउन सकिने उनले बताए ।

नेपालमा पछिल्लो समय क्यान्सर रोगको अवस्था पनि भयावह रहेको उनले बताए । प्रत्येक एक लाख मान्छेमा एक सय तीन जनामा क्यान्सरको समस्या देखिने गरेको उनको भनाई छ ।

क्यान्सर रोग लागेका दूई तिहाई मान्छे अहिले पनि उपचारको पहुँचबाट बाहिर रहेको उनले बताए । क्यान्सर रोकथामका लागि पूर्वसावधानी सबैभन्दा महत्वपूर्ण विषय भएको उनको भनाई छ ।

उनले सुर्तिजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि सरकारले ट्रेनिङ, जनचेतनामूलक कार्यक्रम, पाठेघरको क्यान्सरविरुद्ध भ्याक्सिनलगयतका कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।

काठमाडौं महानगरपालिका स्वास्थ्य  विभागका प्रमुख रामप्रसाद पौडेलले काठमाडौं महानगरपालिकाले सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमणका लागि कानुनहरु तर्जुमा गर्ने कामहरु गरिरहेको बताए । सूर्तिजन्य पदार्थको सेवन नियन्त्रणका लागि स्थानीय तहलाई अधिकार प्रदान गरिएको अवस्थामा मात्रै थप प्रभावकारी कार्यान्वयन गर्न सकिने उनको भनाई छ ।

‘अहिले सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने संघीय कानुन छ । सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमनको जिम्मा स्थानीय तहसम्म आईसकेको छैन । जबसम्म कानुन बन्दैन्, तबसम्म पुरानो संघीय कानुनअनुसार नै हुन्छ । स्थानीय तहहरुले स्थास्थ्यका क्षेत्रमा सघन रूपमा काम गर्न सकिरहेको छैन,’– पौडेलले भने ।

सूर्तिजन्य पदार्थ प्रयोग नियन्त्रणका लागि काठमाडौं महानगरले विभिन्न निकायहरुसँग समन्वय गरी बेलाबेलामा अभियानहरु पनि गरिरहेको उनले बताए । सूर्तिजन्य पदार्थ र मदिराजन्य पदार्थ बेच्न पाइने निश्चित् क्षेत्र घोषणा गर्नेगरी काठमाडौं महानगरले ऐनको तर्जुमा गरिरहेकोसमेत उनले जानकारी गराए ।

काठमाडौं महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख सजिना महर्जनले नेपाल सरकारले सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि बनाएको ऐनको पालना हुन नसकेको गुनासो पोखिन् । अहिले कतिपय पत्रपत्रिकाहरुमा पनि नियमविपरीत सूर्तिजन्य पदार्थ र मदिराहरुको विज्ञापन आउने गरेको भन्दै उनले आपत्ति जनाईन् । महर्जनले काठमाडौं महानगरले सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण र नियमनलाई थप प्रभावकारी बनाउनका लागि काम गरिरहेको स्पष्ट पारिन् ।

उनले विद्यालयका विद्यार्थीबाट पनि घरघरमा सन्देश पुर्याउन सकेको अवस्थामा सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न सकिन्छ भन्ने उद्देश्यले यस वर्ष महानगरले बजेटसमेत विनियोजन गरेको जानकारी दिईन् । दिगो विकासको लक्ष्य हाँसिल गर्नका लागि पनि सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न आवश्यक रहेको उनको भनाई छ ।

क्यान्सर रोग विशेषज्ञ डा. उज्जवल चालिसेले विश्वमा नसर्ने रोगको भयावहको कारक तत्वका रूपमा सूर्तिजन्य पदार्थलाई लिने गरिएको बताए । उनले सूर्तिजन्य पदार्थको प्रयोग कम गर्न सबै निकायले पहल गर्न आवश्यक रहेको औंल्याए ।

‘सकेसम्म सूर्तिजन्य पदार्थको प्रयोग गर्नै भएन । प्रयोग गर्ने गरेकाहरुले पनि छोड्नुपर्यो । मैले धेरै विद्यार्थीसँग अन्तरक्रिया गर्दा यो सूर्तिजन्य पदार्थको प्रयोग राम्रो होइन । म छोड्न चाहन्छु, धेरैले भनेको सुन्छु । तर, उहाँहरु सक्नुहुन्छ,’– उनले भने ।

धुम्रपान छोड्नका लागि आवश्यक पर्ने औषधीहरु सबै वडावडामा पुर्याउन आवश्यक रहेको उनले बताए । साथै, धुम्रपान, मध्यपान र सूर्तिजन्य पदार्थ सेवन छोड्न चाहनेहरुका लागि हेल्प–लाईनको व्यवस्था गर्न आवश्यक रहेको उनले बताए । उनले पहिले महिलाहरुमा ग्रामीण क्षेत्रमा धुम्रपानको संख्या भएपनि अहिले सहरीया महिलाहरुमा यसको प्रकोप पढेको समेत बताए ।

उपचारमा भन्दापनि रोकथाममा राज्यले जोड दिन आवश्यक रहेको उनले बताए । क्यान्सरका विरामीको चापअनुसार अस्पताल र जनशक्तिको अभाव रहेको उनले बताए । प्रायः क्यान्सरको उपचार नेपालमा सम्भव रहेको उनको भनाई छ ।

‘प्रायः क्यान्सरहरुको उपचार नेपालमा सम्भव छ । तर, कुनै–कुनै हामीसँग छैन । क्यान्सरमा एउटामात्रै उपचार विधि हुँदैन, विभिन्न किसिमका उपचार गरेर विरामीलाई निको पार्ने प्रयास हुन्छ,’– उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्