Logo

थुनछेक बहसः रायमाझीका वकिल रिजालप्रति असहिष्णु



काठमाडौं, जेठ २७ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका वकिलहरू भुटानी शरणार्थी नेता टेकनाथ रिजालमाथि खनिएका छन्। जिल्ला अदालत काठमाडौंमा चलिरहेको थुनछेक बहसका क्रममा शुक्रबार रायमाझीको तर्फबाट प्रतिरक्षा बहस गरेका वकिलहरू रिजालमाथि खनिएका हुन्।

रायमाझी र रिजाल दुवै नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित व्यक्ति हुन्। दुवैविरुद्ध यो प्रकरणमा संलग्न भएको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको छ। शुक्रबारको बहसमा रायमाझीका वकिलहरूले रिजालको दिमागी अवस्थामाथि नै टीकाटिप्पणी गर्दै बहस गरेका छन्। रायमाझीको पक्षबाट बहस गरेका पूर्वन्यायाधिवक्ता रमेश बडालले रिजालको ‘माइन्ड कन्ट्रोल’ अरूकै हातमा भएको दाबी गरे।

‘एउटा माइन्ड कन्ट्रोल अरूकै हातमा भएको मान्छेले दिएको बयान पत्याउने श्रीमान्रु’उनले भने, ‘उनको दिमाग अरूकै माइन्ड कन्ट्रोलमा हुने कुरा स्वयं आफैले किताबमै स्विकारेका छन्।’ रिजालले सन् २००९ मा लेखेको किताब ‘टर्चर किलिङ बी सफटुली’मा लेखिएको विषयलाई स्थापित गर्न खोज्दै बडालले तर्क गरे, ‘उहाँको किताबमा माइन्ड कन्ट्रोल उल्लेख भएकाले अहिले पनि सरकारले उनको माइन्ड कन्ट्रोल गरेर बोल्न लगाएको हो कि? यसैले उहाँले बयानमा दिएको कुरा अभियोगको रूपमा सम्मानित इजलासले ग्रहण गर्न सक्दैन।’ किताबमा भुटानको जेलमा बस्दा भुटान सरकारले ‘माइन्ड कन्ट्रोल’ गरेको विषय रिजालको किताबमा रहेकाले त्यसमा इजलासले ध्यान दिनुपर्ने बडालले आग्रह गरे।

शरणार्थी नेता रिजालमाथि रायमाझीका वकिलहरू यसरी खनिनुको कारण रिजालले जिल्ला अदालतमा दिएको बयान हो। रिजालले यस प्रकरणमा सुरुदेखि नै रायमाझीको संलग्न रहेको बताएका छन्। अदालतको कठघरामा उभिएर दिएको बयानलाई इजलासले गम्भीर रूपमा ग्रहण गर्छ।

रिजालको स्मरणशक्ति र दिमागी अवस्थाकै बारेमा अर्का वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रश्न खडा गरे। ‘टेकनाथ रिजालजी संघर्ष र मानवअधिकारका पक्षमा उहाँले गरेको संघर्षको विषयमा अत्यन्त सम्मान गर्छु। तर, उहाँको वर्तमान अवस्थाको सोचसमझको स्थिति, स्मरण शक्ति, मस्तिष्कको क्षमताबारे भने इजलासको ध्यान जानुपर्छ,’ उनले भने, ‘विगतमा किताबमै उहाँले आफ्नो माइन्ड कन्ट्रोलको कुरा स्वीकारसमेत गरिसक्नुभएको छ।’ पछिल्लो समयमा बयान हेर्दा रिजालको दिमागमा अरू कसैले ‘चिप्स’ राखेर चलाइरहेको छ कि भन्ने देखिएको वरिष्ठ अधिवक्ता पन्तले तर्क गरे। ‘उहाँको कुरा हेर्दा ‘अन्कसियस’ जस्तो १०० प्रतिशत कहीँ ‘डिपार्चर’ भएजस्तो देखिन्छ। जे पनि भन्दिनुहुन्छ। बोलिदिनुहुन्छ,’ पन्तले भने।

शरणार्थी नेता रिजालले अदालतमा दिएको बयानमा सुरुमा सानु भण्डारी र केशव दुलाल नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग माग्दै आफूकहाँ आएको बताएका छन्। त्यसपछि उनीहरूसँग आफूले तत्कालीन ‘प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड (पुष्पकमल दाहाल)लाई भेटाउनुस्’ भनेपछि उनीहरूले नै काठमाडौं ल्याएर टोपबहादुर रायमाझी कहाँ पुर्याएको रिजालको बयान छ। त्यसपछि टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दलालसहित आफू दाहालनिवास पुगेको उनको बयानमा उल्लेख छ।

त्यसपछि दाहालले ‘आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नु होला। सम्बोधन हुनसक्ने भए समाधान गर्नु भन्नुभयो,’रिजालले बयानमा भनेका छन् ,‘मैले थाहा पाएसम्म टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल यसका मुख्य योजनाकार रहेको जानकारी छ।’

शरणार्थी नेता रिजाल आरोपितमध्ये एक त्यस्ता पात्र हुन्, जसले सुरुदेखि नै आफ्नो बयानमा एकरूपता कायम गर्दै आएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्