काठमाडौं, २७ जेठ । पूर्वबाल लडाकु लेनिन विष्टले अस्थायी शिविरबाट निस्केको १३-१४ वर्षसम्म न्याय नपाएपछि सर्वोच्च अदालतको ढोका ढकढक्याउनुपरेको बताएका छन् ।
‘हामी क्यान्टोनमेन्टबाट निस्केको १३-१४ वर्ष भैसक्यो । यतिबेलासम्म न्याय नपाएपछि सर्वोच्च अदालत गएको हौं । विगतको द्वन्द्वमा प्रयोग भएका बालबालिकाको उचित व्यवस्थापन, राहत र क्षतिपूर्तिका निम्ति जानु हाम्रो बाध्यता हो । भविष्यमा कुनै पनि द्वन्द्वमा राजनीतिक दलहरुबाट बालबालिका प्रयोग नहोस् भन्ने पनि हाम्रो माग हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउनुपर्छ भनेर तपाईंलाई कसैले उकासेको त होइन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘माओवादी जनयुद्धमा दसौं हजार बालबालिका प्रयोग भएको छ । ती बालबालिकाबारे अनमिनलाई नै गुमराहमा राखियो । अरु देशमा भन्दा फरक के भने हामीले आफ्नो इस्यु आफैंले उठाएका छौं । आफ्नो अधिकारका लागि लड्ने, अन्याय विरुद्ध लाग्नेलाई त्यसो भन्न मिल्दैन । युद्ध अपराधमा हामीले उहाँहरुको नाम लिएका छौं । दोषी हो कि होइन, त्यो छुट्याउने काम न्यायालयको हो । हामी नेपालबाट बेग्लै नजिर स्थापित गर्न चाहन्छौं ।’
सत्य निरुपण तथा मेलमिलाप आयोगबाट हेरिने विषय नभएकाले नै आफूहरु सर्वोच्च अदालतको ढोका ढकढक्याउन गएको उनको तर्क छ । अपराधीलाई चोख्याएर शान्तिप्रक्रिया टुंगाउने कुरामा आफूहरुको सहमति नभएको पनि उनको भनाइ छ ।