Logo

‘भीम रावललाई प्रधानमन्त्री बनाइदियो भने सीमा विवाद समाधान गर्न सक्छन् ?’



काठमाडौं, २७ जेठ । कूटनीतिज्ञ विजयकान्त कर्णले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा गरिएका सम्झौतालाई राष्ट्रघाती भन्नु उचित नहुने बताएका छन् ।
‘कसले भन्यो राष्ट्रघाती काम ? यो त एमालेका नेताहरुको बुद्धि बिग्रेर भन्या हो । १० हजार मेगावाटको पावर ट्रेड ओपनिङ हुनु राष्ट्रघाती हुन्छ ? बंगलादेशसँग विद्युत् व्यापारको बाटो खुल्नु राष्ट्रघाती ? ३ हजार मेगावाटमा भारतीय कम्पनीको लगानी हुनु राष्ट्रघाती ? कोसीसम्म पानीजहाज ल्याउने काम राष्ट्रघाती, डिजिटल कनेक्टेभिटी राष्ट्रघाती ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
कूटनीतिज्ञ कर्णले भारतसँग दुई दशकमा नभएका सम्झौता प्रचण्डले गरेको दाबी गरे । उनले थपे, ‘यसपटक अत्यन्त महत्त्वपूर्ण निर्णय भएका छन् । २०–२५ वर्षभित्रमा यस्ता सम्झौता भएकै थिएनन् । दुई दशकमा नभएका सम्झौता प्रचण्डको पालामा भएको छ । राजनीतिक विश्वासको वातावरण बनाएपछि मात्र यस्ता काम सम्भव हुन्छन् ‘ भैरहवा र पोखरामा एयररुट लिने कुरा प्राविधिक कारण अड्किएको पनि उनले बताए । कर्णले भने, ‘एटीआर प्लेनका लागि कुरा भएको छ । ठुला प्लेनलाई टेक्निकल कुरा नपुगेको मात्र हो ।’
भीम रावलले पनि राष्ठ्रघाती भन्नुभएको छ नि भन्ने प्रश्नमा उनले भने, भीम रावलजी बिहान उठ्दादेखि भारतको विरोध सुरु गर्नुहुन्छ, बेलुकी पनि त्यही काम गर्नुहुन्छ । म राजनीतिशास्त्रको विद्यार्थी हुँ र अन्तर्राष्ट्रिय सम्बन्ध पढाउँछु । उहाँ कुतर्क मात्र गर्नुहुन्छ । यी काम नभएको भए पो त राष्ट्रघाती हुन्छ । उहाँको भारतप्रतिको सोच नै अचम्मको छ । कालापानी, लिम्पियाधुराबारे बोल्दैमा समाधान हुन्छ त ? भारतले निरन्तर संवादबाट गर्ने भनेको छ । पहिलोचोटि सीमा विवादलाई भारतले रिकग्नाइज गरिदियो । सीमा समस्या समाधानका लागि भारत र पाकिस्तानबीच तीनवटा युद्ध भइसक्यो । भारत र चीन, चीन र जापान, चीन र मंगोलियाबीच किन कुरा मिलेको छैन ? सीमा विवाद समाधान गर्न दुईचार दिन होइन, पचासौं वर्ष लाग्न सक्छ । बंगलादेश र भारतलाई ४१ वर्ष लागेको छ । भीम रावललाई प्रधानमन्त्री बनाइदियो भने सीमा विवाद समाधान गर्न सक्नुहुन्छ ? भारतसँग युद्ध गर्ने त ? के राष्ट्रघाती हो, त्यो पो बुझिएन । प्रचण्डको भारत भ्रमण अत्यन्त सफल र महत्त्वपूर्ण भ्रमण हो ।’ बिहानदेखि बेलुकीसम्म राष्ट्रवादको गीत गाएर बस्नेहरुबाट नेपाल बर्बाद भएको आरोप पनि उनले लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot