Logo

उद्योग मन्त्रालय पाए राउत आँफै सरकारमा सहभागी हुने !



काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज/भोलिभित्रै मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । भारत भ्रमणमा फर्किएलगत्तै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका थिए । सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सामेल गराउन प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका हुन् ।

दाहालले यसबारेमा सत्ता घटकका शीर्ष नेताहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल र उपेन्द्र यादवसँग छलफल गरेको बुझिएको छ। तर, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले भने जनमतलाई सरकारमा ल्याउन नहुने कुरा राखेको स्रोतको दाबी छ । पछिल्लो समय मधेश प्रदेशमा यादव र राउतबीच राजनीतिक प्रतिष्पर्धा चुलिएको छ । बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा यादवलाई संसद्मा प्रवेश गर्न नदिनेगरि राउत फिल्डमा खटिएका थिए । यो बीचमा राउतले पनि भारत भ्रमण गरेका छन् ।

उनको दल दाहाल प्रधानमन्त्री नियुक्त हुँदै गर्दा सरकारमा सहभागी भएको थियो । अहिले जनमत सरकारमा नभएपनि उसको सरकारमाथिको समर्थन भने कायमै छ । जनमतले उद्योग वा कृषि मन्त्रालय मागेको छ। यसपटक प्रधानमन्त्री दाहालले जनमतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नै दिने तयारी गरेका छन् ।

यदि जनमतले उद्योग मन्त्रालय पाएको खण्डमा यसपटक अध्यक्ष राउत नै सरकारमा सहभागी हुने चर्चा छ । तर, राउतले भने आफू सरकारमा जान इच्छुक नभएको बताउँदै आएका छन्। जनमतलाई सरकारमा सहभागी गराउनको लागि प्रधानमन्त्री दाहालले आफ्नो दलबाट सरकारमा सहभागी एक मन्त्रीलाई हटाउने तयारी गरेका छन् । प्रधानमन्त्री दाहालले पर्यटनमन्त्री सुदन किराती र संघीय मामिलामन्त्री अमनलाल मोदीमध्ये एकलाई हटाउनसक्ने माओवादीभित्र चर्चा छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot