Logo

हिमालमा पनि बढ्यो तापक्रम



काठमाडौं, जेठ २८ । नेपालको हिमाली भेगको तापक्रम वृद्धितर्फ अग्रसर हुन थालेको छ । पूर्वदेखि पश्चिम नेपालसम्मको उच्च हिमाली भेगमा विगत केही दिनयता तापक्रम बढ्दा न्यानो महसुस हुन थालेको छ । जल तथा मौसम विभागका अनुसार पहाडको तुलनामा कम भए पनि हिमाली भेगका लागि न्यानो महसुस हुनु पनि तापक्रम बढ्नु हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सगरमाथा क्षेत्रमा बस्ती भएका स्थानमा १५ डिग्री सेल्सियसमाथि तापक्रम उक्लिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाका अनुसार त्यस क्षेत्रमा एक सातादेखि वर्षा भएको छैन । चहकिलो घाम लागेको छ । उनले भने, “हिमालको हिउँ कायम हुन यतिखेर वर्षा हुनुपर्ने हो तर भएको छैन । त्यसले चिन्ता थपेको छ ।”

लामो समयसम्म तापक्रम बढ्दै जान थालेमा हिउँ पग्लन थाल्छ । यस्तो अवस्था सिर्जना हुनुलाई राम्रो सूचकका रूपमा लिइँदैन । सगरमाथा आधार शिविरमा जल तथा मौसम विज्ञान विभागले मौसमी अनुगमनका लागि तीन वटा स्टेसन राखेको छ । तर ती राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । महाशाखाका मौसमविद् गोविन्द झाले स्टेसनले काम गर्न नसक्दा त्यस क्षेत्रको तापव्रmमको ठ्याक्कै तथ्याङ्क आउन नसकेको बताए।

स्याङ्बोचे विमानस्थलको तथ्याङ्क अनुसार शनिबारको तापक्रम १४.९ डिग्री सेल्सियस पुगेको छ । शुक्रबार १५.२ डिग्री सेल्सियस र बिहीबार १४.९ डिग्री सेल्सियस कायम रह्यो । सन् २०२० पछि तापक्रम मापन स्टेसन राखिएको हो । त्यसयता १६.७ डिग्री सेल्सियसलाई अधिकतम तापक्रम मानिएको छ ।

जुम्लामा सन् १९९८ मे २४ तारिखमा अत्यधिक ३३।३ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । यस वर्ष शनिबार अत्यधिक २८.३ डिग्री सेल्सियस तापक्रम पुगेको छ ।

गत वर्षको जुलाईमा ३० डिग्री सेल्सियस तापक्रम पुगेको छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जुम्लामा तापक्रम केही दिनयता बढेर थप न्यानो महसुस भए पनि धेरै तातो भइनसकेको बताए।

हुम्लाको सिमकोटमा पनि तापक्रम उच्चतिर बढ्दै जाँदा न्यानो हुन थालेको छ । बिहीबार २१.४ डिग्री सेल्सियस, शुक्रबार २२.४ डिग्री सेल्सियस र शनिबार २४।४ डिग्री सेल्सियस तापक्रम पुगेको छ । हुम्लाका लागि यो तापक्रम यो वर्षको अधिक हो ।

ओलाङ्चुङगोलामा शनिबार उच्च तापक्रमका रूपमा १८.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ । शुक्रबारको तापक्रम १८ डिग्री सेल्सियस थियो ।

त्यस्तै मुस्ताङको जोमसोममा पनि शनिबार विगत पाँच दिनयताकै उच्च तापक्रमका रूपमा २४.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ । शुक्रबार २३.४ डिग्री सेल्सियस तापक्रम रहेको थियो । मनाङमा पनि तातो बढ्दै जाँदा हुम्देस्थित स्टेसनले २०.७ डिग्री सेल्सियस तापक्रम देखाएको छ । शक्रबार त्यहाँ १९.३ डिग्री अधिकतम तापक्रम रहेको थियो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot